काठमाडौं- महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कारबाही नगरेकोमा असन्तुष्टि जनाएको छ।
महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक अनियमितता गर्नेमाथि सरकारले खासै कारबाही नगरेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्। बुधबार महालेखा परीक्षकको कार्यालयको कामकारबाहीबारे संघीय संसद् सार्वजनिक लेखा समितिलाई जानकारी गराउँदै उनले सरकार आर्थिक अनुशासन पालना गराउन उदासीन भएकाले पनि मुलुकमा बेरुजुको समस्या बढ्दै गएको स्पष्ट पारे। महालेखा परीक्षक शर्माले प्रशासनिक दक्षताको अभावमा पनि वित्तीय क्षेत्रमा सुधार आउन नसकेको तर्फ पनि समितिका सदस्यहरुको ध्यानाकर्षण गराएका छन्।
लेखा परीक्षणको कामलाई प्रभावकारी बनाउन प्रदेश तहमा पनि सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए। उनले महालेखा परीक्षकको कार्यालयको कर्मचारीको परिचालनसम्बन्धी छुट्टै व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
महालेखा परीक्षकको कार्यालयका कर्मचारी सरकारले परिचालन गर्ने व्यवस्था गरिएको छ। तर महालेखा परीक्षक शर्माले भने महालेखा परीक्षकको कार्यालयले नै परिचालन गर्ने गरी छुट्टै व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।