रसुवा– रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइँकुण्ड जाने सडकको मर्मत गरिएको छ। जनैपुर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाको तयारी सुरु भएसँगै धुन्चेदेखि गोसाइँकुण्ड जाने सडक मर्मत गरिएको हो।
गत साउन १८ गतेदेखि पहिरोको कारण आवतजावतमा समस्या हुँदै आएको बाटो लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमले बताए। तीन दिनपछि सुरु हुने गोसाइँकुण्ड मेलालाई मध्यनजर गर्दै सेनाले करिब ३० मिटर बाटो मर्मत गरेको नेपाली सेनाको कालिजंग गणले जनाएको छ। सहायक सेनानी अशोक बुढा खाम्पाको नेतृत्वमा बाटो मर्मत गरिएको सेनाले जनाएको छ।
कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड?
गोसाइँकुण्ड जाने तीर्थयात्रीमध्ये करिब ९० प्रतिशत यही पदमार्ग भएर जाने गर्दछन्। गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी ४ वटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि ३ वटा मुख्य बाटो छन्।
काठमाडौंको गोङ्गबु बसपार्कबाट नुवाकोटको त्रिशुली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ भने २ दिनको पैदलयात्रापछि चन्दनबारी हुदै गोसाइँकुण्ड पुग्न सकिन्छ।
काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुले सबैभन्दा बढी प्रयोगमा ल्याउने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ। त्यसपछि काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो आउँछ। धेरै कम यात्रुहरूले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर हालसम्म कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन।
गोसाइँकुण्ड आउने प्रमुख पश्चिमी पर्यटकहरूमा सबैभन्दा धेरै फ्रान्स, जर्मन, इजरायल, कोरिया, जापान र नेदरल्याण्डका छन्। गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको सहासिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले आउने गरेका छन्। जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
यही साउन ३१ गते देखि भदौ १० गतेसम्म गोसाइँकुण्डमा मेला लाग्दैछ। धुन्चेदेखि गोसाइँकुण्ड जाने बाटो सुरक्षित रहेको हुँदा निर्धक्कसँग यात्रा गर्न सबै यात्रुहरुमा गोसाइँकुण्ड क्षेत्र विकास समितिले आग्रह गरेको छ।
पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किम्मदन्ति रहेको पाइन्छ।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चिताएको सबै मनोकांक्षाहरु पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौैं भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन्।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाइँकुण्ड मेलाको अवसरमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौं तिर्थयात्री आउने गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा १ सय ८ कुण्ड रहेको र ती कुण्डमा स्नान गर्नका लागि वर्षेनी हजारौंको सङख्यामा तिर्थालु भक्तजनहरू आउने गरेका छन्। समुन्द्रि सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमा समेत सूचिकृत छ। समुन्द्रि सतहदेखि ४ हजार ३ सय ८० मीटरको उचाईमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।