काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन्।
सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिए।
मित्र राष्ट्र भारतको ७२औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिए। उनले नेपालको नदीनाला दुवै मुलुकको हितमा उपयोग गर्न सकिने धारणा पनि राखे। नेता सिटौलाले दुवै मुलुकको वृहत्तर हित हुने गरी सम्बन्धलाई अझै गाढा बनाउन सरकारलाई पनि सुझाव दिए।
नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा जननायक विपी कोइरालालगायतका नेताहरुले दिएको योगदानको पनि स्मरण गराए। उनले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।