काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले ३३ महिनाअघि सञ्चालनमा ल्याएको हटलाइन टेलिफोनमा वैदेशिक रोजगारपीडितले देश तथा विदेशबाट गरी २ हजार ३ वटा उजुरी गरेका छन्।
हटलाइनमा आएका उजुरीमध्ये १ हजार २ सय २९ रोजगारपीडितका समस्या समाधान गर्न कार्यालय सफल भएको महाशाखाले जनाएको छ।
महाशाखाले वैदेशिक रोजगारपीडितका समस्या फोनमार्फत् सुनुवाइ गर्ने उद्देश्यले २०७२ कात्तिकदेखि ११७७ नम्बरको निःशुल्क हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको थियो।
हटलाइनमा वैदेशिक रोजगारीका सिलसिलामा देशविदेशमा समस्यामा परेका नेपाली कामदारले उजुरी गर्ने गरेको टेकुस्थित महशाखाले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा धेरै युवा पीडित हुने गरेको र यस क्षेत्रमा धेरै ठूला विकृतिसहित आर्थिक शोषण हुनेगरेको महाशाखाका प्रवक्ता नरेन्द्र प्रसाद उपे्रतीले बताए। ‘अन्य क्षेत्रभन्दा वैदेशिक रोजगार क्षेत्रमा धेरै व्यक्ति पीडित हुने गरेका छन्।’, महाशाखाका प्रवक्ता उप्रेतीले भने, ‘यो क्षेत्रका अपराधीले एक ठाउँमा अपराध गरेर अर्को ठाउँमा गएर लुक्ने गरेकाले प्रहरीलाई पनि पक्राउ गर्न गाह्रो भइरहेको छ। त्यसका लागि सहयोग पुगोस् भन्नका लागि पनि महाशाखाले हटलाइन सेवा गरेको हो। जसबाट रोजगारपीडितलाई निःस्वार्थ सहयोग गरिँदै आइएको छ।’ प्रवक्ता उप्रेतीले हटलाइनको व्यवस्थापछि यस क्षेत्रमा भइरहेका धेरै अपराध नियन्त्रण भएको दावी गरे।
उनले वैदेशिक रोजगारका नाममा भइरहेका अपराध प्रहरी एक्लैले मात्र नियन्त्रण गर्न नसक्ने बताए। हटलाइन सञ्चालनपछि वैदेशिक रोजगारीका क्षेत्रमा व्याप्त तस्कारीको सञ्जाल भत्काउन प्रहरी सफल भएको उनको भनाइ छ। ‘हटलाइन सञ्चालनपछि तस्कारीमा परेका धेरै महिलाको उद्धार गरिएको छ। यही सेवाको सहयोगमा नै विदेशबाट १ सय ९६ महिलाको समस्या समाधान गरिएको छ।’, उनले भने।
गएका तीन वर्षमा हटलाइनमार्फत प्रहरीले २० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउन सफल भएको जनाएको छ। हाल, प्रहरीको हटलाइन फोनमा सातामा १ दर्जन जति समस्या आउने गरेका छन्।
२ सय ७९ जनाको उद्धार
प्रहरीले विभिन्न देशमा रोजगारीमा गई समस्यामा परेका २ सय ७९ जना नेपाली नागरिकको सम्बन्धित देशका प्रहरीको सहयोगमा उद्धार गरी नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ।
हटलाइन उजुरीका आधारमा विदेशस्थित नेपाली कूटनीतिक नियोगको सहयोगमा धेरै कामदारको समस्या समाधान गर्न सहयोगीको भूमिका निर्वाह गरेको महाशाखाको भनाइ छ। प्रहरीले तीन वर्षको अवधिमा विदेशमा समस्यामा परेका १९ जना महिला र २ सय ६० जना पुरुषलाई स्वदेश फर्काउन सफल भएको हो।
प्रहरीलाई मानवअधिकार हननको आरोप
महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीका मुद्दा नहेर्ने भएको छ। रोजगार क्षेत्रमा भइरहेको विकृतिलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि मानवअधिकार हनन गरेको र अधिकारभन्दा बाहिर गएर अपराधीलाई कारबाही गर्न खोजेको आरोप लाग्न थालेपछि कार्यालयले वैदेशिक रोजगार क्षेत्रका मुद्दा लिने तर कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई पठाउने गरेको प्रवक्ता उप्रतीले बताए।
विगत दुई वर्षदेखि प्रहरीले पिल्लर नै खडा गरेर रोजगार क्षेत्रका आपराधिक गतिविधि, ठगी र विकृतिलाई निर्मूल पार्न खोजेपनि यस क्षेत्रका मुद्दा हेर्न प्रहरीलाई कानुनमा अधिकार नभएकाले पनि समस्या देखिएको प्रवक्ता उप्रेतीको भनाइ छ।
उनका अनुसार हाल महाशाखाले प्रहरीको हटलाइनमा वैदेशिक रोजगार पीडितले गरेका उजुरी सम्बन्धित निकायलाई जानकारी गराएर सहयोगीको मात्रै भूमिका निर्वाह गर्दै आएको छ। सरकारले कानुन बनाएर अधिकार दिए यो क्षेत्रमा भइरहेका विकृति निर्मूल पार्न सकिने उनको दावी छ।
हटलाइनमार्फत रोजगारीका पीडितका मुद्धा हेर्दा प्रहरीमाथि प्रश्न उठ्न थालेपछि यसको विकल्प सोच्न थलिएको हो।
हटलाइन सेवा अझै व्यापक हुन्छ : एसएसपी सिंह
अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले हटलाइन फोन सेवालाई अझै व्यापक रुपमा सक्रिय बनाएर सञ्चालनमा ल्याउने बताए।
उनले वैदेशिक रोजगारीका नाममा ठगी र बेचबिखन बढिरहेको भन्दै हटलाइनलाई त्यसमा केन्द्रित बनाउने जानकारी दिए। हटलाइनलाई थप प्रभावकारी बनाएर मानव बेचबिखन र रोजगारीको प्रलोभनमा परि हुने ठगीलाई समेत निर्मुल पार्ने योजना रहेको उनको भनाइ छ।
‘समूहमा छलफल गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ, त्यसमा जोड दिन्छु।’, एसएसपी सिंहले भने, ‘अहिले नै यो गर्छु र त्यो गर्छु भन्दिन। हामीले अपाराधीको विरुद्धमा काम गर्ने हो, म त्यसैका लागि यहाँ आएको हुँ।’
यस विषयमा गृहमन्त्री रामबहादुर थापा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल भइरहेको बताउँदै सिहंले वैदेशिक रोजगारीका मुद्दा हेर्ने छुट्टै ब्युरो बनाउने योजना रहेको बताए।
कानुन नबनाई ब्यूरो मात्रै गठन गरेर पनि काम गर्न नसकिने प्रहरीको भनाइ छ। यता वैदेशिक रोजगारीका मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार विभागलाई भएपनि विभागको न्याय प्रणाली प्रभावकारी नभएको पीडितको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।