काठमाडौं– सोमबार भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी नेतृत्वसँग जानकारी लिएका छन्। ब्रिफिङको क्रममा प्रहरी अधिकारीहरुले मुठभेडमै अपहरणकारीहरु मारिएको बताएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका अधिकारीले बिहीबार थापालाई बिफ्रिङ गरेका हुन्।
घटनाको बेला गृहमन्त्री थापा विदेशमा थिए। बुधबार नेपाल फर्किएपछि उनले यसबारे जानकारी लिएका हुन्।
इन्काउन्टरमा मारिएका व्यक्तिका आफन्तले पक्राउ गरेर प्रहरीले गोली हानेको दाबी गरेका छन्। ब्रिफिङमा अपराध महाशाखा र काठमाडौं परिसरका अधिकारीहरु समेत संलग्न थिए। ब्रिफिङको क्रममा अनुसन्धानमा भएको लापरबाहीबारे समेत छलफल भएको थियो।
अपहरणकारीले फिरौती मागेलगत्तै बच्चालाई तत्कालै छाड्न भन्दै धम्कीपूर्ण एसएमएस अपहरणकारीलाई प्रहरीले पठाएको थियो। एसएमएसपछि आफ्नो पहिचान खुल्ने डरले बच्चाको हत्या गरिएको आँकलन समेत गरिएको छ।
आइतबार काँडाघारीबाट ११ बर्षिय बालक निशान खड्कालाई अपहरण गरी हत्या गरेका थिए। अपहरण र हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।