काठमाडौं– पछिल्लो चार वर्षमा उपत्यकामा अभियुक्तहरुसँग भएको प्रहरीको मुठभेडमा ५ जना मारिएका छन्। ७ जना घाइते भएका छन्। इन्काउन्टरका ११ वटा घटनामध्ये केही निकै विवादमा तानिए।
सोमबार भक्तपुरमा दुई अपहरणकारीको ‘इन्काउन्टर’ घटनामाथि पनि कतिपयले प्रश्न उठाएका छन्। पक्राउ गर्न सक्ने अवस्थामा अपहरणकारीमाथि गोली चलाएको आरोप प्रहरीमाथि लागेको छ। सो घटनाबारे मृतक अपरहणकारीका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
यसअघि पनि इन्काउन्टर घटनाका उजुरी प्रहरीमा पुगेका छन्।
दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटे भनिने कुमार श्रेष्ठ इन्काउन्टरको घटनाविरुद्ध मानवअधिकार आयोगमा उजुरी परेको थियो। दुवै घटनाको अनुसन्धान अझै जारी रहेको आयोगका सदस्य सुदिप पाठकले बताए।
चरी इन्काउन्टरमा तथ्य नै जुटेन
२१ साउन २०७१ मा गुन्डागर्दीमा संलग्न दिनेश अधिकारी ‘चरी’ प्रहरी गोलीको सिकार भए। धादिङ जाने क्रममा भिमढुंगामा मुठभेडमा मृत्यु भएको प्रहरी भनाई थियो।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीसँगको मुठभेडमा उनी मारिएका थिए। सो घटना संसदसम्म चर्कियो। अधिकारीका आफन्तले आयोगमा उजुरी गरेका थिए।
तर, सो विषयमा पर्याप्त विवरणहरु संलकन हुन नसक्दा निष्कर्षमा पुग्न नसकिएको सदस्य पाठकले बताए। ‘बयान लिनुपर्ने कतिपय व्यक्तिहरु सम्पर्कमा आएनन्,’ उनले भने,‘विस्तृत विवरण प्राप्त हुन नसक्दा अनुसन्धान रोकिन पुग्यो।’
घैंटेको इन्काउन्टरमा ‘ब्यालेस्टिक बिज्ञ’ नै भेटिएनन्
३ भदौ २०७३ मा कुमार श्रेष्ठ कपुरधारामा प्रहरी गोलीबाट मारिए। सो घटनामा कांग्रेस नेता तथा मृतकका आफन्तले आयोगमा उजुरी दिएका थिए। यो घटनामा पनि आयोग निष्कर्षमा पुग्न सकेको छैन।
‘यो घटनाको अनुसन्धानमा हामीले ब्यालेस्टिक बिज्ञ नै पाउन सकिएन,’ सदस्य पाठक भन्छन्,‘सोही अनुसन्धान रोकिएको छ।’
कति टाढाबाट गोली हानिएको थियो भन्ने लगायतको विश्लेषणका लागि आयोगले ब्लालेस्टिक बिज्ञ खोजेको थियो। प्रहरी संगठन बाहिर त्यस्तो बिज्ञ नै पाउन नसक्दा समस्या भएको आयोगले जनाएको छ।
सोमबारको घटनाको पनि बुधबारदेखि नै आयोगले छानबिन थालिसकेको छ। निर्देशक यज्ञ अधिकारीको संयोजकत्वमा टोली बनाएर आयोगले छानबिन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।