सुर्खेत– वीरेन्द्रनगर–१ सुर्खेतका किसन बयलकोटी पढेर शिक्षक बन्न चाहन्थे। शिक्षक बन्ने र अरुको जीवनमा उज्यालो छर्ने उनको सपना आमाको निधनसँगै बदलियो। कक्षा ७ मा पढ्दै गर्दा आमाको निधनपछि उनले पढाइ पूरा गर्न पाएनन्। पढाइ पूरा नभएपछि शिक्षक बन्न पाएनन्। अन्ततः उनले लक्ष्य परिवर्तन गरे र रोजे व्यापार।
वीरेन्द्रनगरमा छालाको जुत्ता पसल सञ्चालन गरिरहेका उनलाई व्यापारले आत्मनिर्भर मात्रै बनाएन मनग्य आम्दानीका साथै सन्तुष्टि पनि दियो। ‘जुत्ता सिलाएरै महिनाको कम्तिमा २० हजार रूपैयाँ कमाउने गरेको छु,’ उनले भने, ‘यही आम्दानी मेरा लागि मनग्य भएको छ। १ लाख ५० हजार रुपैयाँ लगानी गरेर सुरु गरेको पसलबाट परिवारलाई खुसी साथ राख्न सकेको छु।’
गरिबीले बदल्यो सपना
बयलकोटीको जन्म निम्नवर्गीय परिवारमा भयो। ‘हाम्रो घरको गरिबी त पहिलेदेखि नै थियो झन् आमाको मृत्युपछि त्यो गरिबी बढ्यो र मेरो सपना पनि टुट्यो’, उनले भने। गरिबीकै कारण पढ्न नपाएपछि उनी भारत पसे। भारतमा गएर मजदुरी गरे। तर न आर्थिक लाभ भयो, न त शरीरलाई आनन्द भयो। त्यसपछि उनी घर फर्किए। भारतमा बस्दै गर्दा जुत्ता बनाउने सीप सीकेर नेपाल पर्किएका थिए उनी। जुन सीप नै अहिले उनको जीविकोपार्जनको माध्ययम बनेको छ। उनले २०६८ सालदेखि वीरेन्द्रनगरमा जुत्ता पसल गर्दै आएका छन्।
पसलबाट महिनाको न्यूनतम २० हजार रूपैयाँ कमाउने गरेको उनी बताउँछन्। उनले त्यही आम्दानीले आफू, श्रीमती र दुई छोराछोरीको परिवारले सन्तुष्टिका साथ जीवनयापन गरिरहेको बताए।
‘सबैभन्दा ठूलो कुरा त सीप नै रहेछ। मैल पहिले नै सीप सिकेको भए कहिले भारत र कहिले नेपालमा भौंतारिँदै भारी बोक्नुपर्ने थिएन,’ बलयकोटी भन्छन्, ‘सीप सीकेपछि मेरो परिवारको समृद्धि भएको छ। श्रम गर्दा इज्जत जाँदैन। पेसा कुनै पनि सानो र ठूलो भन्ने हुँदैन। मलाई मेरो पेसाप्रति गर्व छ। यही पेसाका कारण आज मेरो परिवारमा खुसी बढेको छ।’
आफू स्वरोजगार, अरुलाई रोजगारी
वीरेन्द्रनगर–६ न्युरोडकी मनमाया नेपाली टेलर चलाउँछिन्। टेलरबाट हुने आम्दानी नै उनको परिवारको मुख्य आयस्रोत हो। १५ वर्षको उमेरमै विवाह गरेकी मनमाया सुरुवाती वर्षमा परिवारमै आश्रित भइन्। श्रीमान् खिमबहादुर नेपालीको सल्लाह र सहयोगमा सिलाइ–कटाइको काम सिकेर आफैं व्यवसाय सञ्चालनमा ल्याएपछि भने मनमाया घरको आम्दानीको प्रमुख स्रोत भएकी छिन्।
२०६४ सालमा मनमायाले सिलाइ–कटाइ सिकिन्। करिब ३ वर्ष उनले अरुकै टेलरमा काम गरिन्। त्यहाँ काम गरेर महिनाको ६ हजार कमाइ हुन्थ्यो। २०६७ सालमा ५० हजार रूपैयाँ लगानी गरेर आफ्नै टेलर सञ्चालनमा ल्याएकी मनमायाले अहिले दैनिक ६ हजार कमाई गर्छिन्।
मनमायाले टेलर सञ्चालनमा ल्याएर आफू मात्र आत्मनिर्भर भएकी छैनन्, अरुलाई पनि रोजगारी दिएकी छिन्। ‘म आफू मात्र रोजगार भएकी छैन, आफूजस्तै बेरोजगार अरु ७ जना दिदीबहिनीलाई रोजगारी दिएकी छु,’ उनले गर्वका साथ भनिन्।
बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म पनि उनी पसलमै व्यस्त हुन्छिन्। ‘पसलमा म व्यस्त हुने भएकाले घरको काममा समेत मेरो श्रीमानले सघाउनुहुन्छ।’ मनमायाले भनिन्।
मनमायालाई श्रीमानको पनि उत्तिकै साथ छ। ‘मेरो परिवारको साथ र सहयोग नभएको भए आज म यो अवस्थामा हुने थिइनँ,’ उनी भन्छिन्, ‘मैलै व्यवसाय धानेकी छु, मेरो श्रीमानले घर धान्नुभएको छ।’
पुरुषले कमाउने र महिलाले घरधन्धा गरेर बस्ने पुरानो सोचलाई तोड्न पाउँदा खुसी लाग्ने गरेको उनले बताइन्। भन्छिन्, ‘महिलालाई परनिर्भर ठान्ने परम्परा तोड्न जरुरी छ। जसका लागि हामी महिला आफैं जागरुक भएर लाग्नुपर्छ।’
आम्दानीसँगै सन्तुष्टि
जुनीचाँदे गाउँपालिका–६ जाजरकोटका हरि शाही सुर्खेतमा व्यवसाय गर्छन्। रोजगारीकै खोजीमा उनले ३ वर्ष मलेसियामा बिताए। मलेसियाबाट फर्किएपछि उनी आफ्नै व्यवसायमा लागे। सुरुमा १ लाख रुपैयाँ लगानी गरेर वीरेन्द्रनगर–८ खजुरामा ‘बिहानी हेयर कटिङ सेन्टर’ सञ्चालनमा ल्याएका उनले कपाल काटेरै महिनामा ९० हजार रुपैयाँ कमाउँदै आएका छन्।
निम्न वर्गीय कृषक परिवारमा उनको जन्म भयो। प्रविणता प्रमाणपत्र तहको पढाइ छाडेर उनी मलेसिया पुगे। घरको कमजोर आर्थिक अवस्थाकै कारण छिटो पैसा कमाउने उद्देश्यसहित विदेशिएको उनी बताउँछन्। मलेसियामा बस्दा उनी मुस्किलले महिनाको ५० हजार रुपैयाँ कमाउँथे। त्यसका लागि गर्नुपर्ने दुःख उनी वयान गर्नै सक्दैनन्।
‘नेपालमा मैले त्योबेलामा केही सम्भावना नदेखेरै विदेश गएको थिएँ,’ उनी भन्छन्, ‘विदेशमा भन्दा स्वदेशमै सजिलैसँग बढी आम्दानी गर्न सकिने रहेछ।’
मलेसिया बस्दा नै उनले कपाल काट्ने सीप सिकेका थिए। त्यही सीपको सदुपयोग गरेर अहिले उनी सन्तुष्टिको जिन्दगी बाँचिरहेका छन्। ‘मैलै जम्मा १ लाख रुपैयाँ लगानी गरेर सैलेनु खोलें। अहिले महिनाको ९० हजार कमाउँदै आएको छु। दिनमा ३ देखि ५ हजार रुपैयाँसम्म कमाइ हुन्छ।’
उनी कपाल काट्नेदेखि, मसाज, दारी, कलरिङ, फेसवास, थ्रेडिङ, कपाल स्टेट, क्लिजिङ जस्ता काम गरेर त्यही अनुसारको शुल्क लिन्छन्। त्यसैबाट भएको आम्दानीले ८ जनाको परिवारलाई सुखका साथ पालेका छन्। ‘मेरो परिवारका सबैलाई मैलै खुसी नै राखेको छु। छोराछोरी अंग्रेजी स्कुलमा पढ्दै छन्। म मेरो पेसाप्रति एकदमै खुसी छु।’
व्यवसायबाट जत्तिको सन्तुष्टि अरुबाट नमिल्ने उनको अनुभव छ। तर, नेपालमा कामको मूल्यांकन नहुने गरेको शाहीको गुनासो पनि छ।
उनले भने, ‘जबसम्म नेपालमा हरेक कामको सही मूल्यांकन र सम्मान गरिँदैन, कामको आधारमा व्यवहार गरिन्छ तबसम्म नेपालको विकास सम्भव छैन। सधैं परनिर्भर हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।