काठमाडौं– जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन्।
मन्त्री पोखरेलले डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले उनकाे जीवन रक्षाका लागि पनि सरकारले उपचारका लागि काठमाडौं ल्याउने निर्णय गरेको बताए। ‘उहाँको स्वास्थ्य अवस्था क्रमश: ओरालो लागिरहेको छ। उहाँले नमानेपनि ल्याउँछौं। यो हाम्रो दायित्व हो।’
डा केसीलाई लिन डा गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको पनि उनले बताए। शिक्षमन्त्री पोखरेलका अनुसार डा केसीलाई काठमाडौं ल्याएपछि सुरुमा त्रिवी शिक्षण अस्पतालमा राखिने छ।
उनले सरकारले संसदमा पेश गर्न लागेको चिकित्सा शिक्षा विधेयकमा माथेमा कार्यदलका मुलभुत कुरा राखिएको दावी गरे। ‘माथेमा प्रतिवेदनमा रहेका मुख्य विषयहरु हटाइको छैन।’, मन्त्री पोखरेलले भने,‘अध्यादेशमा नपुग कुरा विधेयक संसदमा गइसकेकाले सांसदले थप्ने तथा संशोधन गर्नेछन्। त्यही नै सही प्रक्रिया हो।’
उनले माथेमा प्रतिवेदन राम्रो रहेको पनि औँल्याए। ‘माथेमा कार्यदलको प्रतिवेदन राम्रो सामाग्री हो तर यो स्वतः एेन बन्दैन। हामी संसदीय प्रक्रिया अनुसार नै एेन बनाउँछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।