काठमाडौं– चालू आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ।
सोमबार नेप्से परिसूचक १२ दशमलब २७ अंकले बढेर १२ सय १२ दशमलब ३६ को बिन्दुमा आइपुगेको छ। क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब ३९ अंकले बढेको छ।
सोमबार १ सय ५९ कम्पनीको ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। जबकि आइतबार १ सय ७० कम्पनीको १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार अन्य समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। अन्य समूह २ दशमलब ६७ अंकले घटेको छ। आज सर्वाधिक कमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। यो समूह १ सय ४७ दशमलब ०२ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह ५० दशमलब २३ अंक, उत्पादन तथा प्रशोधन समूह ३२ दशमलब ५१ अंक, होटल समूह ३२ दशमलब ५९ अंकले बढेको छ।
सोमबार प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको संस्थापक सेयरको ५ करोड २० लाख ७९ हजार ६ सय ५८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। त्यस्तै, नबिल बैंकको २ करोड ६० लाख ९८ हजार ८२ रुपैयाँ संस्थापक सेयरको कारोबार भएको छ।
सोमबार युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ अर्थात् ७ दशमलब ५० प्रतिशतले बढेको छ। त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँ अर्थात् ७ दशमलब ३९ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।