काठमाडौं- वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा भोजराज अधिकारीलाई गृह मन्त्रालय लगेर गरिएको दुर्व्यवहारप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति प्रकट गरेको छ।
मंगलबार दिउँसो अस्पतालमा बिरामी जाँचिरहेका डा अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाको आदेशमा गृह मन्त्रालयकै गाडीमा लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाव दिइएको थियो।
गोदानका आजीवन सदस्य रहेका डा अधिकारीलाई 'द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने' धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुर्व्यवहार गरिएको संघले विज्ञप्तिमा जनाएको छ।
संघले चिकित्सा पेसामाथि धावा बोल्दै सरकारी पक्षबाटै असुरक्षित महसुस भएको उल्लेख गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ।
'अन्यथा पेशाको मर्यादा र अनुशासनको लागि यस संघ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ भन्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छ', विज्ञप्तिमा उल्लेख छ।
'मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ' भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले द्वन्द्वकालका घाइतेहरुको अपांगताबारे गलत रिपोर्ट बनाउन दबाव दिएका हुन्।
डा अधिकारीले तीन दशकभन्दा बढी चिकित्सकीय अभ्यासका क्रममा चिकित्सा आचारसंहिता बाहिर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि उनलाई छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।