काठमाडौैं– आर्थिक वर्ष सकिन यतिबेला देशभरिका सरकारी कार्यालयहरुमा बजेट खर्च गर्ने हतारो छ। कार्यालय प्रमुखहरु फाइल सदर गर्न तथा लेखापालहरु चेक काट्न व्यस्त छन्। यही समय कतिपय सरकारी इञ्जिनियरका लागि पैसा असुलीको मौसम हुने गर्छ।
पछिल्ला ५ दिनमा ५ जना इञ्जिनियर घुससहित पक्राउ पर्नुले उनीहरु ठेकेदारसँग घुस उठाउन व्यस्त रहेको दर्शाउँछ। आर्थिक वर्षको पुछारमा ठूलो रकम भुक्तानी हुने भएकाले यतिबेला देशभरका कार्यालयहरुमा ठूलो मात्रामा घुसको लेनदेन चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु बताउँछन्।
अख्तियारले विभिन्न जिल्लाबाट ५ जनालाई पक्राउ गरिसकेको छ। विद्यालयको भवन निर्माणको बिल स्वीकृतिदेखि सडक निर्माणसम्मका काममा घुस लिँदालिँदै इञ्जिनियरहरु पक्राउ परेका हुन्। कुनै पनि निर्माणको काम इञ्जिनियरबाट स्वीकृत भएपछि मात्र भुक्तानी हुने भएकाले नियतवश स्वीकृत नगरी घुस असुल्ने प्रवृत्ति देखिएको अख्तियार स्रोत बताउँछ।
एकै दिन तीन इञ्जिनियर पक्राउ
गत असार २२ गते अख्तियारले तीन जना इञ्जिनियरलाई घुससहित पक्राउ गर्यो।
केन्द्रीय कार्यालयबाट खटिएको टोलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका इञ्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार रुपैयाँ घुससहित पक्राउ गर्यो। उनले ३० लाख रुपैयाँको बिल पास गरिदिए वापत सो घुस लिएका थिए। खनालले एक खानेपानी आयोजनाको उपभोक्ता समितिको ३० लाख बराबरको बिल पास गरेका थिए। त्यसलाई स्वीकृत गर्न उनले घुस लिए लगत्तै धुलिखेलको हिमालयन यती कफी सपबाट अख्तियार टोलीले पक्राउ गरेको हो।
३ करोड ५९ लाख रुपैयाँको बजेट पाएको सो खानेपानी आयोजनाले ३० लाख रुपैयाँ बराबरको काम पूरा गरेको थियो। घुस मागेपछि उपभोक्ताहरुले अख्तियारलाई खबर गरेर घुस दिएसँगै इञ्जिनियर खनाल रकमसहित समातिए।
सोही दिन बाँकेको डुडुवा गाउँपालिकाका इञ्जिनियर तेजराज खड्का घुससहित पक्राउ परे। माटो पुर्ने तथा ग्राबेल सडक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि ठेकेदारसँग एक लाख घुस लिए लगत्तै अख्तियारको कोहलपुर कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका विपी चोकबाट उनलाई पक्राउ गरेको थियो।
त्यस्तै, जिल्ला प्राविधिक कार्यालय गौर रौतहटका इञ्जिनियर अजयकुमार ठाकुर पनि २२ गते नै पक्राउ परे। विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि बिल कागजात तयार पार्ने प्रयोजनका लागि उनले ठेकेदारसँग ४५ हजार रुपैयाँ घुस लिएका थिए। घुस दिए मात्र फाइल स्वीकृत गरिदिने उनको प्रस्ताव थियो।
त्यस्तै, असार २५ गते आइतबार जिल्ला प्राविधिक कार्यालय, जाजरकोटका इञ्जिनियर अञ्जयकुमार देवलाई आयोगले पक्राउ गर्यो। सिंचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने प्रयोजनका लागि उनले ८० हजार रुपैयाँ घुस मागेका थिए।
यसपछि मंगलबार साँझ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव–इञ्जिनियर लोकेन्द्र थापा ५ लाख घुससहित पक्राउ परे।
प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) नुवाकोटमा कार्यरत थापाले नुवाकोटको दुप्चेश्वर– ४ स्थित महेन्द्र प्राविको भवन निर्माणको बिल स्वीकृतिका लागि घुस मागेका थिए।प्राधिकरणले सो विद्यालय निर्माणका लागि ६७ लाख रुपैयाँ बजेट दिएको थियो। त्यसमध्ये २२ लाख भुक्तानी हुन बाँकी थियो। सो रकम भुक्तानीका लागि उनले ठेकेदारसँग सुरुमा १० लाख घुस मागे पनि पछि ५ लाखमा कुरा मिलेको थियो।
इञ्जिनियर थापाले पैसा मागेर दुःख दिएपछि ठेकेदारले अख्तियारलाई सूचना दिएर घुस दिएका हुन्। सामाखुसीको रातो भाले रेस्टुरेन्टमा घुस लिएलगत्तै सव-इञ्जिनियर थापालाई आयोगको टोलीले पक्राउ गरेको हो। उनी करारमा नियुक्त कर्मचारी हुन्।
अहिले सरकारी कार्यालयहरुमा बिल स्वीकृति र भुक्तानीको काम चलिरहेको अवस्थामा यस बेला धेरै घुस लेनदेन हुने भएकाले ५ दिनमा ५ जना इञ्जिनियर पक्राउ परेको अख्तियारका प्रवक्ता सह-सचिव रामेश्वर दंगाल बताउँछन्।
अख्तियारले दोलखाको कालिञ्चोक गाउँपालिका–९ नम्बरको वडा कार्यालयका सव–इञ्जिनियर रामनरेश यादव विरुद्ध गत शुक्रबार मुद्दा दायर गरेको थियो। भूकम्प पीडितले प्राप्त गर्नुपर्ने दोस्रो किस्तावापतको रकमको सिफारिस गर्ने क्रममा एक भूकम्पपीडितसँग उनले ९ हजार रुपैयाँ घुस लिएका थिए।
गत असार १७ गते बाँकेको बैजनाथ गाउँपालिका इञ्जिनियर मजिद खाँ पनि घुससहित पक्राउ परेका थिए। माटो पुर्ने तथा ग्राबेल सडक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार पार्न उनले २५ हजार घुस लिएका थिए। उनलाई अख्तियारको कोहलपुर कार्यालयबाट खटिएको टोलीले कोहलपुर– ४ मदनचोकबाट घुस रकमसहित पक्राउ गरेको थियो।
किन बदनाम भए इञ्जिनियर?
कमिसन लिने प्रवृत्तिका कारण सरकारी सेवामा कार्यरत इञ्जिनियरहरुको छवि राम्रो छैन। पछिल्लो समयका यी घटनाले पनि इञ्जिनियरहरुको कमिसनमोहन थप प्रस्ट्याएको छ।
अख्तियारका प्रवक्ता दंगाल आर्थिक वर्षको अन्तिममा विकास-निर्माणको फरफारकमा इञ्जिनियरहरुकाे मुख्य भूमिका हुने भएकाले उनीहरु पक्राउ परेको बताउँछन्।
आयोगका एक अधिकारीका अनुसार, प्रतिस्पर्धामा भएका टेन्डरमा घुस लिने इञ्जिनियरहरु मात्र पक्राउ परेका हुन्।
‘विकास-निर्माणका धेरैजसो ठेक्का मिलेमतोमा हुने भएकाले त्यसमा हुने गोप्य लेनदेनका कुरा हामीसम्म आइपुग्दैन', आयोगका एक कर्मचारी भन्छन्, ‘प्रतिस्पर्धामा हुने ठेक्कामा भने इञ्जिनियरले फाइल रोकेर पैसा असुल्न खोज्छन्, त्यसमध्ये केही उजुरी हामीकहाँ आउने हुन्।’
सरकारले समयमा काम नगरेको तथा गुणस्तरहीन काम गरेको भनेर गत महिना त्यस्ता ठेकेदारहरुलाई पक्राउ गरेर कारबाही थालेको थियो। इञ्जिनियरका पछिल्ला घुसकाण्डले विकास-निर्माणमा हुने ढिलासुस्ती तथा अनियमिततामा कर्मचारीको मिलेमतो पनि देखिन्छ।
एक निर्माण व्यवसायी भन्छन्, ‘कर्मचारीलाई भाग नछुट्याई कामै गर्न सकिँदैन, कतिपय ठेक्कामा घाटा पनि हुन्छ। त्यस्तो अवस्थामा समेत भुक्तानी पाउन कर्मचारीलाई ऋण लिएर भए पनि घुस खुवाउनुपर्ने हुन्छ।’
पैसा नदिएसम्म उनीहरुले सम्झौता अनुसार काम नभएको भन्दै भुक्तानी रोक्ने गरेको ती व्यवसायी बताउँछन्।
ठूला ठेक्काहरुमा कर्मचारीले कति प्रतिशत पाउने भन्ने सुरुमै तय हुन्छ। जसमा ५ देखि ८ प्रतिशत भाग कर्मचारीलाई छुट्याइने गरिएको छ। सिन्डिकेटमा हुने ठेक्कामा त्यो प्रतिशत अझ धेरै हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।