रसुवा- घरबारीको काममा अल्झिएर समय बिताउँदै आएका स्याँफ्रुका तामाङ समुदायका अधिकांश महिलाको आजभोलि हात खाली हुँदैन। गोसाइँकुण्ड गाउँपालिका–५ स्याँफ्रुका प्रायः घरमा तान राखिएको छ। अधिकांश महिलाले दैनिक स्यामा पाङ्गप बुनेर तानमै समय बिताउने गरेका छन्।
तामाङ समुदायका महिलाले लगाउने स्यामा पाङ्गप बुन्ने तालिम पाएपछि व्यावसायिक रूपमा काम थालेको स्याँफ्रुबेंसीकि कामी ग्याल्मो घलेले बताइन्। उनले भनिन्, ‘पहिला घरको काम गरेर समय बित्थ्यो, ४५ दिने तालिम र स्यामा पाङ्गप बुन्न तान पाएपछि डेढ वर्षदेखि म निरन्तर काम गरिरहेकी छु।’
महिला सशक्तीकरण अभियान अन्तर्गत वडापालिका तथा नेपाल कृषिवन प्रतिष्ठानले स्याँफ्रुका महिलालाई तालिम दिएपछि उनीहरु परम्परागत स्यामा पाङ्गप बुनाइतर्फ आकर्षित बन्दै गएका हुन्।
आफैं काम गरेर आम्दानी गर्न थालेपछि आत्मनिर्भर बन्दै गएको घलेले बताइन्। ‘पहिले आफूसँग पैसा नहुँदा श्रीमान्सँग माग्दा कहिले पाइन्थ्यो, कहिले पाइँदैन थियो। अहिले त पाङ्गप बुनेर घर खर्च चलाएकी छु। समूहमा २–४ सयसम्म बचत पनि गरिरहेकी छु,’ उनी थप्छिन्, 'आफ्नो पुर्खाले लगाउँदै आएको लुगा बुन्न छाडियो भने, भोलिका केटाकेटीले बिर्सिन्छन्। हाम्रो संस्कृति पनि हराउँदै जाला भनेर यो काममा ध्यान दिएर लागेकी छु। अब नयाँ पुस्तालाई पनि सिकाउँदै जाने हो।'
तामाङ समुदायका महिलाले विशेष गरी चाडपर्व, विवाह जस्ता शुभकार्यमा स्यामा पाङ्गप लगाउने गर्छन्। नेपाल कृषिवन प्रतिष्ठानले ३० विपन्न महिलाको समूह बनाई स्यामा पाङ्गप बुनाई सम्बन्धी तालिम उपलब्ध गराएको थियो।
जीविकोपार्जन समूहमा ९० हजारको घुम्ती कोषका कारण बुनाइका लागि धागो किन्न सजिलो भएको स्थानीय लाक्पा छोमो तामाङले बताइन्। सुरुमा तान तथा धागो सहयोग गरेकाले हाल मासिक १५ हजारसम्म आम्दानी लिने गरेको समूहकी याङ्जेन तामाङ्ले जनाएकी छिन्। उनले भनिन्, ‘घरमा बुनेका सामाग्री घरैबाट बिक्री हुन्छन्। कृषि वन प्रतिष्ठान र घरेलुले बजारमा कोशेली घर सञ्चालन गरेकाले घरबाट नबिकेका सामग्री उतैबाट पनि बिक्री वितरण हुन्छ।’
स्यामा पाङ्गप बुन्नका लागि तानमा धागो राख्न एक दिन लाग्छ। एउटा पाङ्गप बुन्न २ देखि ३ दिनसम्म लाग्ने गरेको छ। सानो र ठूलो गरी दुई किसिमको स्यामा पाङ्गप बुन्ने गरिन्छ। सानो खालको पाङ्गपको पसलेले १४ सय रुपैयाँमा खरिद गर्ने गरेका छन्। घरैबाट भने १७ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ। छोमो तामाङले भनिन्, ‘एउटा सानो खालको पाङ्गपका लागि ५ सयको सामान किन्नुपर्छ। पसलमा बेच्न लैजाँदा त्यति नाफा आउँदैन, घरबाटै बेच्दा अलि बढी फाइदा हुन्छ।’
त्यस्तै, बुट्टा भरेको ठूलो खालको पाङ्गप ४ हजार रुपैयाँसम्ममा बेच्ने गरेको कामी ग्याल्मो घलेले बताइन्। उनका अनुसार ठूलो खालको बुट्टा भरेको पाङ्गप तयार गर्न १ हजार रुपैयाँ बराबरको सामग्री चाहिन्छ।
तामाङ समुदायका महिलाले संस्कृतिको संरक्षण तथा पोशाकलाई राम्रो देखाउन, कम्मरमुनि पछाडि पट्टिको भागमा स्यामा लगाउँछन् भने अगाडि तिर पाङ्गप लगाउने गर्छन्। पाङ्गप भने विवाहित महिलाले मात्रै लगाउने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।