काठमाडौं– ललितपुरको पुल्चोकमा सिङ्ग–मा फुड कोर्ट प्रालि नामक रेस्टुरेन्ट छ। यस रेस्टुरेन्टका सञ्चालक सिंगापुरका नागरिक यो क्वान छेङसहित ६ जना छन्।
छेङ नेपालमा बस्दैनन्। उनले इन्डोनेसियाकी महिला रीता गोंगालाई व्यापार प्रतिनिधिका रुपमा नेपालमा खटाएका छन्। सो कम्पनीको व्यापार प्रतिनिधिका रुपमा बिजनेस भिसामा नेपालमा बस्दै आएकी रीतालाई पुल्चोकको सो रेस्टुरेन्टप्रति खासै चासो छैन। रेस्टुरेन्ट त उनको नेपाल बसाइको बहाना मात्र हो।
उनको दिन बित्ने गर्छ, कुमारीपाटीस्थित ‘एभ्री नेसन चर्च’ मा। आफ्ना श्रीमान् दी भेरा रिचार्ड (फिलिपिनो नागरिक) सँग मिलेर उनले चर्च चलाउँदै आएकी छिन्। नेपालमा व्यवसाय गर्न भनेर बिजनेस भिसामा बसेका उनीहरु धर्म प्रचार र धर्म परिवर्तनको ‘व्यापार’ मा संलग्न छन्। उनीहरु दुवै जना पादरी भएको स्रोत बताउँछ। रेस्टुरेन्टका मुख्य मालिक सिंगापुरका क्वान छेङ पनि पादरी नै भएको र बिजनेस भिसा पाउनकै लागि सो रेस्टुरेन्ट खोलिएको स्रोत बताउँछ।
नेपालको संविधानले दबाव तथा प्रभावमा धर्म परिवर्तनलाई अपराध मानेको छ। तर, उनीहरुले बिजनेस भिसामा बसेर नेपालमा धर्म परिवर्तन गर्दै आएका छन्।
विदेशीहरुले नेपालमा भिसाको दुरुपयोग गरेर कसरी इसाई धर्मको प्रचार गरिरहेका छन् भन्ने यो एउटा उदाहरण हो। जानकारहरुका अनुसार, नेपालमा बिजनेस भिसामा बस्दै आएका एक सयभन्दा धेरै व्यक्ति इसाई धर्मको प्रचार तथा धर्म परिवर्तनको ‘धन्दा’मा सक्रिय छन्।
रेस्टुरेन्टका साथै भाषा प्रशिक्षण केन्द्र जस्ता साना लगानीका कम्पनीहरु खोलेर विदेशीहरु नेपालको अध्यागमन कानुन विपरीत अवैध गतिविधिमा संलग्न छन्। विदेशी नागरिकहरुमाथि प्रभावकारी अनुगमन हुन नसक्दा यस्ता अवैध गतिविधि बढ्दो छन्।
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले पनि कतिपय विदेशीहरु धर्म परिवर्तन लगायत अवैध गतिविधिमा लागेको सूचना प्राप्त भएको र अनुसन्धान भइरहेको बताउँछन्।
‘नेपालमा आउने धेरै विदेशीहरु धर्म प्रचार तथा प्रवचन जस्ता गतिविधिमा संलग्न रहेका सूचना आइरहन्छन्’, महानिर्देशक काफ्ले भन्छन्, ‘तर नेपालको कानुनमा धर्म प्रचार गर्न नपाइने भन्ने प्रावधान रहेनछ, भिसा दुरुपयोग गर्ने कतिपयलाई निष्कासन पनि गर्दै आएका छौं।’
कतिपय विदेशीहरु धर्म परिवर्तनकै उद्देश्य लिएर नेपाल आउने गरेका छन्। व्यापारका लागि लगानी गरिएको पैसा पनि त्यसैमा खर्च हुने गरेको छ।
नेपालका विभिन्न स्थानमा रहेका चर्चमा छापा मार्ने हो भने अवैध रुपमा बसिरहेका एक सयभन्दा बढी पादरी पक्राउ पर्ने अध्यागमन विभागका एक अधिकारी बताउँछन्।
२ हजारभन्दा बढी विदेशी बिजनेस भिसामा
काठमाडौंमा व्यापारको आवरणमा धेरै विदेशीहरु क्रिस्चियन धर्म प्रचारमा लागेका छन्। कीर्तिपुर नगरपालिकाको टौदहमा एक कोरियन नागरिकले ग्रेस कम्प्युटर इन्स्टिच्यूट खोलेका छन्। जहाँ ७/८ थान कम्प्युटर छन्। नजिकैको एक स्कुल र स्थानीयलाई त्यहाँ कम्प्युटर सम्बन्धी तालिम पनि दिइन्छ।
तर, त्यसरी तालिम दिएर पैसा कमाउने सो कम्पनीको उद्देश्य होइन। स्थानीयहरुलाई क्रिश्चियन धर्ममा लगाउने उद्देश्यले सो कम्पनी स्थापना गरिएको स्रोत बताउँछ।
त्यस्तै, कीर्तिपुरको पाँगामा पनि एक कोरियन भाषा इन्स्टिच्यूट छ। कोरियन भाषा पढाउनेभन्दा पनि सो कम्पनीले पनि शनिबार इसाई धर्म सम्बन्धी प्रवचन दिने गरेको छ।
नेपालमा २ हजारभन्दा धेरे विदेशी बिजनेस भिसा लिएर बसेका तथ्यांक अध्यागमन विभागसँग छ। बिजनेस भिसा लिन नेपालमा कम्तीमा ५० लाख रुपैयाँ बराबरको लगानी गर्नुपर्छ। त्यसरी लगानी गरेको कम्पनीमा अनुगमन गरेपछि मात्र बिजनेस भिसा दिन सकिने प्रावधान छ। तर, भिसाका लागि सिफारिस गर्ने उद्योग विभाग र भिसा दिने अध्यागमन विभागले विस्तृत अध्ययन र अनुगमनबिना नै दिने गर्छन्। त्यसपछि कहिल्यै अनुगमन समेत नहुने भएकाले धर्म प्रचारको विकृति बढेको हो।
पर्यटन भिसामा आएका विदेशीहरु पनि समाजसेवाको नाममा धर्म प्रचारमा लाग्ने गरेका छन्। जसमा धेरैजसो कोरियन तथा जापानी नागरिकहरु हुने गर्छन्।
यसरी भिसाको दुरुपयोग गरी नेपालमा बस्दै आएका विदेशीहरुको अनुगमनका लागि सरकारले ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७५’ ल्याएको छ। सो निर्देशिका अनुसार विदेशी नागरिकहरुमाथि निगरानी र कारबाही प्रभावकारी बनाइने अध्यागमन विभागका महानिर्देशक काफ्ले बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।