काठमाडौं– ललितपुरस्थित नख्खु कारागारमा रहेका ‘सिरियल किलर’ अभिषेक सिंहले जेलर र चौकीदारलाई कारबाही गराउन जेलभित्रै नाटकीय शैलीमा एक कैदीको हत्या गरेको खुलेको छ। गत बैशाख २२ गते कैदी भक्तबहादुर सुनुवारको रहस्यमय मृत्यु भएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गरेको छानबिनमा सिंह सुनुवारको हत्या गरेको पुष्टि भएको हो। बयानको क्रममा सिंहले आफुले नै हत्या गरेको स्वीकार गरेका छन्।
सिआइबी स्रोतका अनुसार सिंहको जेलर र चौकीदारसँग सम्बन्ध राम्रो थिएन। जेलभित्रै कैदीको मृत्यु भएपछि उनीहरुलाई त्यहाँबाट हटाउन उनले सुनुवारको हत्या गरेका हुन्। केमिकल खुवाएर उनले सुनुवारको हत्या गरेको खुलेको छ।
जेलमा एक्कासी गम्भीर बिरामी भएका उनलाई अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न नसकेको उल्लेख छ। थप परिक्षणमा केमिकल खुवाएर हत्या गरिएको खुलेको हो।
२०७० साल कात्तिकयता जेलमा रहेका सिंहले नाटकीय शैलीमा ६ जनाको हत्या गरेका थिए। उनलाई नेपाली शोभराज उपनामले पनि चिनिन्छ।
घटनाको अनुसन्धानका लागि सुरुमा गृह मन्त्रालयले कारागार व्यवस्था विभागका निर्देशक कृष्ण अधिकारीको संयोजकत्वमा छानिबन समिति गठन गरेको थियो। समितिले सिंहले नै हत्या गरेको आधार देखिएको र यसको विस्तृत छानबिनको जिम्मेवारी सिआइबीलाई दिन सुझाव दिएको थियो। सोहीअनुसार सिआइबीले अनुसन्धान गरि सिंहले नै हत्या गरेको पुष्टि गरेको हो।
मंगलबार सिंहसँग बयान लिएको छ। उनीविरुद्ध ललितपुर परिसरले कर्तव्य ज्यान मुद्दा अघि बढाउने तयारी गरेको थियो।
सिआईबीका एक अधिकारीका अनुसार अभिषेक र सुनुवार जेलमा सँगै बस्दथे।
सिंहले विगतमा पनि आफु निकट व्यक्तिहरुलाई झुक्याएर खानामा औषधी खुवाएर हत्या गर्दथे। सुुनुवारलाई पनि त्यसरी नै हत्या गरेको आशंका छ।
सिंहको मृत्यु हुनुभन्दा एक दिन अघि सुनुवारले गृहमन्त्रीलाई जेलबाटै पत्र लेखेका थिए। आफुलाई चौकीदारले १५ लाख रुपैयाँ मागेको र यातना दिने गरेको पत्रमा उल्लेख छ। पत्र लेखेकै भोलिपल्ट उनको मृत्यु भएपछि जेलभित्र गृहमन्त्रीले जेलर र चौकीदारमाथि कारबाही गर्ने भएकाले सोही योजनाअनुसार उनले सुनुवारको हत्या गरेका हुन्।
पत्र लेख्ने नाटक पनि सिंहकै भएको खुलेको छ। उक्त पत्रको समेत प्रहरीले ल्याबमा परिक्षण गराउँदा सिंहले नै लेखेको प्रष्ट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।