काठमाडौं– नक्कली सर्टिफिकेट पेस गरी पर्यटक पथ प्रदर्शक (टुरिस्ट गाइड) को अनुमतिपत्र लिएका थप व्यक्तिहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन अघि बढाएको छ। सिआइबीले ६ जनालाई पक्राउ गरी हाल अनुसन्धान गरिरहेको हो। (पढ्नुस् सम्बन्धित समाचार :टुरिस्ट गाइडको पनि नक्कली प्रमाणपत्र, ६ जना पक्राउ)
सिआइबीका निर्देशक डिआइजी नारायणसिंह खड्काका अनुसार टुरिस्ट गाइडका रुपमा काम गर्ने धेरै व्यक्तिहरुसँग शैक्षिक प्रमाणपत्र नक्कली भएको सूचना प्राप्त भएको छ। ‘नेपालकै कलेजको नाममा नक्कली सर्टिफिकेट पेस गर्नेहरुलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘केहीले भारतीय कलेजहरुमा अध्ययन गरेको भनेर पेस गरेका छन्, उनीहरुमाथि अनुसन्धान भइरहेको छ।’
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा पर्यटक पथ प्रदर्शकको अध्ययन गरी अनुमतिपत्र लिनका लागि स्नातक तह अनिवार्य उत्तिर्ण गरेको हुनुपर्छ। तर, स्नातक नपढेका धेरै व्यक्तिहरुले नक्कली सर्टिफिकेट पेस गरी अनुमतिपत्र लिने गरेका छन्।
नाथमबाट करिब ४ हजारले पर्यटक पथ प्रदर्शकको अनुमतिपत्र लिएका छन्। त्यसमध्ये करिब ३ सयले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको स्रोत बताउँछ।
अध्ययन नगरेका व्यक्तिहरुले अनुमतिपत्र लिई काम गर्दा उनीहरुबाट पर्यटक ठगिने र असुरक्षित हुन सक्ने जानकार बताउँछन्।
नक्कली प्रमाणपत्रधारी गाइडहरुलाई पक्राउ गरेपछि पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुले यसको स्वागत गरेका छन्।
युनियन अफ ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, एयरलाइन्स, आरकोलिजी, कल्चर, कार्गाे वर्कर्स नेपाल संस्थाका आर्थिक सचिव प्रशान्त ढुंगाना नक्कली गाइडहरुलाई पक्राउ गर्नु सकारात्मक भएको बताउँछन्। ‘हामीले विगतदेखि नै यसबारे कुरा उठाउँदै आएका थियौं,’ उनी भन्छन्, ‘यस्ता अरु व्यक्तिहरु पनि धेरै छन्, उनीहरुलाई कारबाही गर्नुपर्छ।’
नाथमसँग मिलेर सिआइबीले सबै टुरिस्ट गाइडहरुको सर्टिफिकेट छानबिन अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।