विराटनगर– वर्षात्को सुरुवातसँगै रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम प्रभावित हुन थालेको छ।
सडकको ‘फाउन्डेसन’को काममा वर्षातको पानी जम्ने र खाडल पुरिने समस्या सुरु भएपछि निर्माण कार्य प्रभावित भएको हो। अधिकांश स्थानमा अहिले काम प्रभावित भएको परियोजनाका इन्जिनियर सुमोद पोखरेलले बताए।
‘फाउन्डेसनको लागि खनिएको खाडल सामान्य वर्षातमै जलमग्न भइरहेको छ’, पोखरेलले भने, ‘दिनहुँ पानी पर्न थालेपछि काम गर्ने अवस्था छैन।’ वर्षात्का कारण सिमेन्ट, बालुवाको काम गर्न र जमिनमुनिको काम गर्न समस्या भएको उनले बताए।
विराटनगर क्षेत्रमा केही काम भइरहे पनि अन्य क्षेत्रको काम वर्षात् तथा अतिक्रमणका कारण अवरुद्ध भएको परियोजनाले जनाएको छ।
समयमै बजेट निकासा नहुँदा ढिलाइ
प्रारम्भिक चरणमा अर्थ मन्त्रालयले पैसा नपठाउँदा सडकको काममा ढिलाइ भएको र पछिल्लो समय रकम निकासा भएपनि वर्षात्का कारण अपेक्षा अनुसार काम गर्न नसकिएको पोखरेलको भनाइ छ।
‘पहिले अर्थ मन्त्रालयले बजेट निकासा गर्न ढिलो गर्यो’, उनले भने, ‘अहिले अर्थले पैसा त दियो, तर पानीका कारण काम अघि बढाउन समस्या छ।’
घरटहरा हटाउन पहल
रानी–धरान क्षेत्रमध्ये सबैभन्दा धेरै समस्या दुहबीमा देखिएको छ। सडक क्षेत्रमा पर्ने स्थानीयका घरटहरालगायतका संरचना हटाउन गाह्रो देखिएपछि परियोजनाले दुहबी क्षेत्रको काम थाँती राखेर अन्य क्षेत्रको काम अघि बढाइरहेको छ। वर्षात् सकिनासाथ सो क्षेत्रको काम पनि अघि बढ्ने पोखरेल बताउँछन्।
दुहबी क्षेत्रको समस्याका विषयमा परियोजनाले सडक विभागमा फाइल पेश गरेको र विभागबाट पत्र आएपछि काम सुरु हुने उनले जानकारी दिए।
यता, डिभिजन सडक कार्यालय इटहरीले दुहबी नगरपालिका लगायत सम्वन्धित निकायलाई पत्राचार गरी सडक क्षेत्रमा पर्ने घरटहरालगायतका संरचना हटाउन अनुरोध गरेको छ। निषेधित क्षेत्रभित्र स्थायी संरचना बन्ने गरी घरनक्सा पास नगरिदिन पनि डिभिजनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिइएको पत्रमा राजमार्गको हकमा बीच भागबाट ३१ मिटर र सहायक मार्गमा २१ मिटर दायाँबायाँ बनेका संरचना हटाउन सहयोगका लागि अनुरोध गरिएको छ।
यसअघि गत माघ महिनामा पनि डिभिजन कार्यालयले स्थानीय तहलाई पत्राचार गर्दै परियोजनाको काममा सहयोग गर्न अनुरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।