बाबियाचौर- म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एन्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको सो आयोजनाले गति लिने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको सर्वेक्षण गरिएको थियो।
लामो समयदेखि प्रतीक्षामा रहेको सो आयोजनामा चिनियाँ लगानी भित्रनु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको अध्यक्ष कर्माचार्यको भनाइ छ। लगानीकर्ता र प्रवर्द्धकलाई सुरक्षाको प्रत्याभूति, सामाजिक वातावरण र प्रक्रियागत झन्झटटबाट मुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए।
२०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको उक्त आयोजनाले प्रक्रिया पूरा नगरेपछि अनुमतिपत्रनै रद्द भएको थियो। पुरानो अनुमतिपत्र रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो।
सन् २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य थियो। मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको सो आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो। पाँच किलोमिटर सुरुङ रहने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो।
रु २५ अर्ब लागतको उक्त आयोजनाले नारच्याङमा रु ३ करोड मुआब्जा दिएर ३ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा कालीगण्डकी गर्जसँगै ६०० मेगावाट क्षमताको मनाङ मस्याङ्दीलगायत ८७९ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजनाका लागि चिनीयाँ लगानीकर्तासँग सम्झौता भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।