वीरगन्ज- राजस्व अनुसन्धान विभाग काठमाडौँले वीरगन्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ। मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताए। उनलाई हाल नख्खु जेल राखिएको छ।
दुई सातायता, राजस्व विभागले थालेको मरिच तस्करी काण्डको प्राम्भिक अनुसन्धानमा अग्रवाल दोषी पाइएपछि विभागले उनीसँग हिजो साँझ ५ बजे धरौटीको रकम रु ३ करोड ७६ लाख ८० हजारसहित विभागमा हाजिर हुन बोलाएको थियो। तर धरौटीवापतको रकम बुझाउन नसक्दा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
करिब एक वर्षदेखि वीरगन्जसहित आसपासको जिल्ला नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महँगो दाममा बेच्न वीरगन्जका व्यापारी सक्रिय थिए। गत जेठ २१ गते राति वीरगन्ज भन्सार नाकाबाट भारतीय ट्रकमै एक ट्रक मरिच भारत पठाउन लाग्दा पर्सा प्रहरीले १२ टन दुई सय किलो मरिच बरामद गर्दै चालक र ट्रकलाई कारबाही गरेको थियो।
सोही घटनालाई पछ्याउँदै जाँदा अनुसन्धान विभागले व्यापारी अग्रवालसम्म पुगेको स्रोतको भनाइ छ।
एक साताअघि मरिच तस्करीको घटना वीरगन्जबाट बढ्न थालेपछि निर्देशक ध्रुव पोखरेलको टोलीले वीरगञ्जको दुई वटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र नियन्त्रणमा लिँदै अनुसन्धनलाई तीव्र बनाएको थियो।
पक्राउ परेका अग्रवालको छाला उद्योग ग्लोबल लेदर ट्रेनिग इन्डष्ट्रिज प्राली लिपनीबिर्ता र निजका कान्छा भाइ एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पाटवारीको फर्म साम इन्टरनेशनलमा छापा हानेर अनुसन्धान गर्दा अग्रवाल दोषी पाइएको विभागले जनाएको छ।
अनुसन्धानकै क्रममा विभागको पत्रका आधारमा वीरगन्जबाट दुई जना भन्सार क्लियरिङ एजेन्ट वीरेन्द्र गुप्ता तथा दिलीप श्रीवास्तव पनि पक्राउ परेका छन्।
वीरगन्जबाट छाला लिएर कानपुर हिँडेको युपी ७८ बिटी ३८०४ नं को भारतीय ट्रकमा जेठ २१ गते १२ टन दुई सय किलो मरिच बरामद भएको हो। अनुसन्धानबाट भाइ अनिल पाटवारी विदेशबाट सुख्खा बन्दरगाहको बाटो भएर ठूलो परिमाणमा मरिच मगाउने र दाइ सञ्जय छाला भनेर ट्रकबाट मुख्य नाका रुटमा भन्सार कर्मचारीलाई मिलाएर विगत लामो समयदेखि मरिच तस्करी गर्दै आएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।