काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ४ जनाविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको छ। नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड कर्नर नोटिस जारी भएको हो।
फरार रहेका सुनसरीको धरान–३ घर भएका मोहन अग्रवाल(एमके), झापाको उर्लाबारी–७ घर भएका रमेश उप्रेती, काभ्रे बेथानचोक– ४ घर भएका हरी शरण खड्का र सुनसरीको इटहरी–६ घर भएका वेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले बताए।
जिल्ला अदालत मोरङले उनीहरुको म्याद जारी गरेपछि रेड कर्नर नोटिस जारी भएको थियो। अदालतबाट वारेन्ट जारी भएपछि मात्र इन्टरपोलले रेड कर्नर नोटिस जारी गर्दछ।
सो प्रकरणमा यसअघि अग्रवाल, उप्रेती र निलम्बित एसएसपी श्याम खत्रीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको थियो। जसमध्ये खत्री आफैं अदालतमा उपिस्थत भएकोमा पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।
रेड कर्नर नोटिस जारी गरिएकाहरु सबैजना तस्करीमा मुख्य लगानीकर्ता समूह भएको बिशेष अनुसन्धान टोलीका एक अधिकारी बताउँछन्।
उप्रेती सो समूहका नाइके मानिएका चुडामणि उप्रेती ‘गोरे’का भाई हुन्। उनी दुबईमा बसेर नेपालमा सुन पठाउने तथा हुन्डीको कारोबार गर्दै आएका व्यक्ति हुन्।
अग्रवाल मुख्य लगानीकर्ता भएको प्रहरी ठहर छ। बिशेष टोलीले अनुसन्धान सुरु गरेलगत्तै अग्रवाल भागेका थिए। डिल्लीबजारस्थित उनको घरमा प्रहरीले छापा हानी सुन लगायत विभिन्न कागजपत्रहरु बरामद गरिसकेको छ।
खड्का डेढ वर्षअघि सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्ति हुन्। पछि उनी अदालतबाट छुटेका थिए।
त्यस्तै वेनु श्रेष्ठ पनि मुख्य लगानीकर्तामध्येका एक भएको प्रहरीले जनाएको छ।
रेड कर्नर नोटिस जारी भएपछि उनीहरु जुनसुकै देशमा भएपनि पक्राउ गरेर नेपाल ल्याउन सहज भएको छ।
सो प्रकरणमा मुछिएका बाजेको सेकुवा रेस्टुरेन्टका मालिक चेतन(चेतनाथ) भण्डारीविरुद्ध भने इन्टरपोलबाट कुनै नोटिस जारी भएको छैन। उनी पनि मुख्य लगानीकर्ता भएको भन्दै बिशेष अनुसन्धान टोलीले उनका रेस्टुरेन्ट समेत बन्द गराइसकेको छ।
तस्करीमा सहयोग गरेको आरोपमा बिशेष अनुसन्धान टोलीले हालसम्म ४१ जनालाई पक्राउ गरिसकेको छ। टोलीको सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङले ६२ जना उपर दुई महिनाअघि मुद्दा चलाएको थियो। जसमध्ये २८ जना अझै फरार छन्। तस्करीमा संलग्न थप व्यक्तिको पनि पहिचान खुलिसकेको छ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटपाट भएपछि छानबिन गर्ने क्रममा सुन तस्करी गिरोहको पर्दाफास भएको थियो।
सोही सुन लुटेको आशंकामा गिरोहमा आबद्ध सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो। सो हत्या घटनाबाट आफुलाई जोगाउन चुडामणि उप्रेतीले गरेको चलखेल छानबिन गर्दा सुन तस्करीमा संलग्न थप व्यक्तिहरु पक्राउ परेका हुन्।
गृह मन्त्रालयका सहसचिव ईश्वराराज पौडेल नेतृत्वको बिशेष अनुसन्धान टोलीले घटनाको अनुसन्धान जारी राखेको छ। मंगलबार मात्र टोलीले तस्करीमा संलग्न भएको आशंकामा डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिम विमल पोदारलाई पक्राउ गरेको थियो। बिहिबार टोलीले उनको अपार्टमेन्टमा समेत खानतालासी लिएको छ।
तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित ३३ जना हाल कारागारमा छन्। ६ जनालाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।