काठमाडौं– गत साता प्रहरीसँगको मुठभेडमा गोली लागेर घाइते भएका काभ्रेली समूहका अशोक लामा ५ वटा मुद्दाका फरार अभियुक्त भएको खुलेको छ। एउटा मुद्दामा त उनलाई अदालतले ५ वर्ष कैद सजाय सुनाइसकेको विवरण अदालतमा भेटिएको छ।
गुन्डागर्दीमा संलग्न लामाले विभिन्न व्यक्तिलाई आक्रमण गरी हत्या प्रयास गरेका थिए।
अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार, २०५७ बैसाख २२ गते उनले रुद्रनाथ अधिकारीलाई खुकुरी हानेर गम्भीर घाइते बनाएका थिए। यही मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी फरार थिए। उनको आक्रमणमा परेका अधिकारी शारीरिक रुपमा हाल अशक्त छन्।
त्यस्तै ३ वर्षअघि कमलादीको एक डिस्कोमा लामाले पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङका छोरा प्रबलराज गुरुङलाई आक्रमण गरेका थिए। प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाएकोमा अदालतले त्यसलाई कुटपिट र जबरजस्ती चोरी मुद्दामा परिणत गरेको थियो।
२०५७ सालमा लामासहितका व्यक्तिले उमेश श्रेष्ठको हत्या प्रयास गरेका थिए। काभ्रेली समूहका विष्णु लामा र अशोक लामाविरुद्ध मुद्दा चलेको थियो।
व्यवसायी राजन श्रेष्ठमाथि पनि ४ वर्षअघि भएको आक्रमणको घटनामा लामा नै संलग्न थिए। त्यस्तै, लामा संलग्न भएका अन्य २ वटा घटनाको अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ।
गत जेठ २८ गते दिउँसो ललितपुरमा युएन पार्कमा प्रहरीको गोली लागेर लामा घाइते भएका थिए। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालबाट डिस्चार्ज भएपछि उनीविरुद्ध हातहतियार मुद्दा चलाउने प्रहरी तयारी छ। उनीसँग एउटा पेस्तोल प्रहरीले बरामद गरेको थियो।
व्यवसायीहरुलाई धम्क्याउने गरेको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा मुठभेड हुँदा गोली चलाइएको प्रहरीले जनाएको छ। लामाको खुट्टामा एउटा गोली लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।