हेटौंडा– हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा बन्द सत्रको पहिलो दिन बोल्ने अधिकांश सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्।
सभापतिहरुले विधान विपरित मनोनयन, टिकट वितरणमा अपरादर्शिता, गुटलाई प्रश्रय दिएको भन्दै सभापति देउवाको आलोचना गरेका हुन्। बुधबार बोलेका ३८ जनामध्ये देउवाको बचाउ गर्नेको संख्या न्युन थियो। प्रत्येकलाई बोल्नका लागि तोकिएको १० मिनेट अवधिमा अधिकांश सभापतिहरुले देउवाको आलोचनामा समय खर्चेका थिए।
बर्दिया जिल्ला सभापति सञ्चय गौतमले १३औं महाधिवेसनमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई गरेको सहयोगको पार्टी सभापतिले बदला लिएको भन्दै देउवाको आलोचना गरे। ‘४२ जना जिल्ला सभापतिहरुले पौडेलको पक्षमा मत मागेका थियौं। तपाईंले छानी–छानी बदला लिँदै हुनुहुन्छ।’ देउवालाई इन्गित गर्दै गौतमले भने।
१३औं महाधिवेसनको दोश्रो चरणमा सभापतिका प्रत्यासी वरिष्ठ नेता पौडेललाई जिताउन गौतम सहितका ४२ जिल्लाका पार्टी सभापतिहरुले हस्ताक्षर गरेका थिए।
टिकट वितरणका क्रममा आफूहरुलाई भूमिकाविहिन बनाइएको भन्दै धेरै सभापतिले गुनासो गरेका थिए। पराजित सभापतिलाई टिकट वितरण समितिमा राखिएको प्रति धेरैले नेतृत्वको कदमको विरोध गरेका थिए। टिकट वितरणबाट सभापतिका आसेपासेले अवसर पाएकोसमेत आरोप लगाइएको थियो।
नुवाकोट पार्टी सभापति जगदिशश्वर नरसिंह केसीले सभापतिलाई धृतराष्ट नबन्न सुझाए। टिकट वितरणका क्रममा सभापतिहरुलाई भुमिकाविहीन बनाइएकोले निर्वाचनमा भोगेको पराजयको सभापतिले जिम्मेवारी लिनुपर्ने उनले तर्क राखे। ‘तपाई जिम्मेवारी नलिने हो भने जिल्ला सभापतिहरुले लिन्छौं।’, उनले भने।
धादिङ सभापति रमेश धमलाले पनि सभापतिको कडा आलोचना गरेका थिए। नेता धमलाले दलमा कुनै प्रणाली नभएको भन्दै चिन्ता व्यक्त गरे। धमला र पाल्पा सभापति विरबहादुर रानाले नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा बोलेका थिए। रानाले कम्युनिष्ट र स्वयम् नेपाली कांग्रेसभित्र पनि अतिवाद भएको औंल्याए।
स्याङ्जा पार्टी सभापति कमल पंगेनीले भने बोल्ने क्रममा सन्तुलित हुने प्रयास गरेका थिए। उद्योगपति विनोद चौधरीलाई समानुपातिक उम्मेदवार बनाएकोप्रति एक सभापतिले नेतृत्वको आलोचना गर्न भ्याए। उनले भने,‘उद्योग वाणिज्य महासंघको विपक्षमा रहेका चौधरीलाई छनौट गर्दा उद्योगीहरुको कांग्रेसप्रति वितृष्णा जाग्यो।’
इलाम सभापति हिमालय कर्माचार्यले प्रजातान्त्रिक 8वादका लागि कांग्रेसमा नलागेको धारणा राखे। पार्टीमा आत्माआलोचनाको प्रणाली विकास गर्न उनले पार्टीको नेतृत्वपंक्तिलाई सुझावसमेत दिए।
सभापतिको बचाउमा कञ्चनपुरका सभापति हरि बोहरा, पर्वतका खिमप्रसाद भुषाल, दोलखाका रुद्रबहादुर खड्कालगायत उभिएका थिए।
बिहान १० बजेदेखि सुरु भएर बेलुका ८ः३० सम्म जिल्ला सभापतिहरुले आफ्ना धारणा राखेका थिए। बोल्न बाँकी रहेका जिल्ला सभापतिहरुले बिहीबार बोलिसकेपछि सातै प्रदेशमा एकत्रित धारणाको लागि छुट्टाछुट्टै बैठक गरी भेला समापन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।