पोखरा- पोखरा लेखनाथ महानगरपालिकाले आगामी नगरसभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटबारे प्रदेश र संघीय सांसदसँग छलफल गरेको छ।
छलफलमा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सांसदहरुलाई स्मार्टसिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना र बजेट बनाउन सुझाव दिएका छन्।
कास्की १ बाट संघीय संसद्माि निर्वाचित सांसद खगराज अधिकारीले विजयपुर खोलामा पुलहरु थप्नुपर्ने र चौडाइ ४ लेनको बनाउनेतर्फ महानगरको ध्यानाकर्षण गराएका छन्। बाइपास सडक बनाएर पोखराको ट्राफिक जामलाई घटाउने योजना महानगरपालिकाले ल्याउनुपर्ने उनको भनाइ छ। ‘पोखरामा पर्यटन विश्वविद्यालयको खाँचो छ,’ अधिकारीले भने,‘ताल संरक्षणको साथै महानगरका सबै वडालाई जोड्ने सडक सञ्जाल विस्तारमा विशेष ध्यान दिनुपर्छ।’
प्रदेशसभाका सांसद कृष्ण थापाले चुनावी घोषणपत्रमा समेटिएका योजनालाई पूरा गर्ने गरी बजेट ल्याउनुपर्ने बताए। ‘पोखराका डाँडाकाँडालाई ग्रीन स्याटेलालाइट सिटी बनाउनुपर्छ,’ थापाले भने, ‘समग्र पोखराको विकासको गुरु योजनालाई बनाएर अगाडि बढेमात्र स्मार्टसिटी बन्न सक्छ।’ सांसद दीपक कोइरालाले साबिकको लेखनाथ नगरपालिकाका बासिन्दालाई महानगरको अनुभूति हुनेगरी योजना बनाउनुपर्ने बताए। ‘तालहरुको संरक्षणको लागि गुरुयोजना आवश्यक छ,’ कोइरालाले भने, ‘जनताको जीवनस्तर परिर्वतन हुने गरी बजेट ल्याउनुपर्छ।’
अर्का सांसद मनबहादुर गुरुङले विजयपुरको किनारैकिनार सडक बनाउनुपर्ने जोड दिए। सांसद विन्दुकुमार थापाले पोखराले भूउपयोग र जल उपयोग नीति ल्याउनुपर्ने बताए। सार्वजनिक जग्गाको संरक्षण, सुकुम्बासी समस्या समाधान, करदाता मैत्री सुशासन लगायत समग्र पोखराको गुरुयोजना बनाउनुपर्नेमा उनको जोड थियो। अर्का सांसद राजीव पहारीले चाक्ला सडक र पार्किङ स्टेसन बनाउन पनि महानगरलाई सुझाव दिए।
सांसद रामजी बराल जीवनले चौबीसै घन्टा धारामा पानी आउने गरी योजना बनाएर काम गर्न सुझाव दिए। सांसद मित्रकुमारी गुरुङ सुवेदीले खानेपानी व्यवस्थापनलाई र महिला कानुनी परामर्शलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन्।
गायत्री गुरुङ, पुष्पा केसी भण्डारी लगायतले बजारलाई सफा राख्नको लागि प्लास्टिकको विकल्प खोज्नुपर्ने बताए।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले विभिन्न ५ वटा समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माणको काम भइरहेको जानकारी गराए।
महानगरको तेस्रो नगरसभा असार १० गतेदेखि पोखरा सभागृहमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।