भैरहवा– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम चाँडै बाँडिने बताएका छन्।
महानिर्देशक गौतमले बोर्ड बैठक बस्न नसकेका कारण आयोजनालाई रकम पठाउन ढिला भएको बताएका छन्।
‘अर्थमन्त्रालयबाट निकासा भएको रकम पठाउनुअघि बोर्डबाट पास गर्नुपर्छ’, महानिर्देशक गौतमले भने, ‘बोर्ड बैठक बस्न नसकेको कारण ढिलाइ भएको हो।’
उनले मुआब्जाका लागि तत्काल प्राधिकरणले ५ अर्ब रुपैयाँ बाँड्नसक्ने भन्दै त्यसको तयारी भइरहेको नेपाल लाइभलाई बताए।
राष्ट्रिय गौरवको आयोजना उक्त विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले दुई दिनयता निर्माण कार्यमा अवरोध गरिरहँदा डिजी गौतमले यस्तो बताएका हुन्।
महानिर्देशक गौतमले तत्काल सबै मुआब्जा तिर्ने बजेट भने प्राधिकरणसँग नभएको बताए।
‘जग्गा अधिग्रहण गरेबापत दिनुपर्ने २३ अर्बमध्ये दुई पटक गरी ११ अर्ब रुपैयाँ मुआब्जा सरकारले दिइसकेको छ’, उनले भने, ‘बाँकी रहेको १२ अर्ब रुपैयाँ तत्काल तिर्नसक्ने बजेट प्राधिकरणसँग छैन।’
प्राधिकरणले प्रक्रिया पुर्याएर सबैको मुआब्जा तिर्ने भनिरहेका बेला निर्माण कार्य नै रोकिने गरी आन्दोलन गर्न जरुरी नभएको समेत उनले बताए।
‘सरकारले तिर्छु भनेको मुआब्जा जहिले भए पनि तिर्नुपर्छ, यस्तो सानो विषयमा निर्माण कार्य रोक्न मिल्दैन’, गौतमले भने।
जग्गा अधिग्रहण गरेको धेरै समय भए पनि हालसम्म पनि मुआब्जा नपाएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्। निर्माणाधीन विमानस्थलको धावनमार्गमा विरोध प्रदर्शनका क्रममा उनीहरुले महानिर्देशक गौतम विरुद्ध पनि नाराबाजी गरेका छन्।
आन्दोलनको नेतृत्व गरिरहेका पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले नागरिक उड्ड्यन प्राधिकरणले आन्दोलनलाई हल्का रुपमा लिएको भन्दै बुधबारदेखि थप कडा आन्दोलन गर्ने बताए।
पीडितहरुको आन्दोलनलाई राजनीतिक दलले पनि समर्थन गरेको छ। संघिय 8वादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले मुआब्जा नपाएको कारण किसानहरु निकै समस्यामा परेको भन्दै तत्काल मुआब्जा वितरण गर्न माग गरे।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष विजयकुमार धवलले सरकारले विगतमा ३० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्था रहे पनि आगामी महिनादेखि १० लाख रुपैयाँबाट नै लाभकर तिर्नुपर्ने हुन लागेको व्यवस्थाको विरोध गर्दै मुआब्जाको लाभकार खारेज गर्नुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।