काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत ललितपुरबाट १२ लाख धरौटीमा रिहा भएका छन्।
स्वीकृति नलिई नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिए पनि अहिले नै कसुरदार ठहर गर्न नमिल्ने तर्क गर्दै जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो।
यसअघि काठमाडौ जिल्ला अदातलले पनि उनलाई १० लाख धरौटी मागेको थियो। जिल्ला अदालत काठमाडौंबाट पक्राउ परेलगत्तै उनलाई ललितपुर जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो। लतिलपुरमा उनीमाथि २ करोड ७५ लाख २२ हजार बिगो दाबी गर्दै आइतबार मुद्दा दायर गरिएको थियो।
अदालतले मागेको धरौटी श्रेष्ठले नगदमै बुझाएको जिल्ला अदालतले जनाएको छ।
यसअघि काठमाडौं जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। करिब ३ अर्ब बिगो दाबी गरिएको मुद्दामा जिल्ला अदालतले उनलाई १० लाख धरौटी मात्र माग गरेको थियो। धरौटी बुझाएलगत्तै जिल्ला अदालतबाटै उनलाई प्रहरीले पक्राउ गर्दै ललितपुरमा अनुसन्धान थालेको थियो।
जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इकल इजलासले श्रेष्ठसँग जेठ ३० गते १० लाख रुपैयाँ धरौटी मागेको थियो। जिल्ला अदालतले तोकेको रकम नगद बुझाएर रिहा हुन लाग्दा थप ठगी उजुरी परेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।