काठमाडौं- भूकम्पछि सुस्ताएको घरजग्गा कारोबार बिस्तारै तंग्रिन खोजेको व्यवसायीहरुले बताएका छन्। यही अवसरको फाइदा उठाउँदै व्यवसायीहरुले कम मूल्यका अपार्टमेन्टहरु बिक्री गर्न थालेका छन्।
पछिल्लो समय नेपाली बजारमा न्यूनतम ३७ लाख रुपैयाँदेखि २ करोड ८० लाख रुपैयाँसम्मका अपार्टमेन्ट बिक्रीमा रहेका छन्। सबैभन्दा सस्तो अपार्टमेन्ट सिभिल होम्सको रहेको छ। सिभिल होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन १ बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँ बिक्री गर्दै आएको छ। एउटा बेडरुमका साथै लिभिङ र डाइनिङ रुम पनि रहेको यो अपार्टमेन्छ नेपालको सबैभन्दा सस्तो रहेको सिभिल होम्सकी कर्पोरेट सेल्स म्यानेजर कामना थापाले दाबी गरिन्।
उनले असार १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी घरजग्गा मेलालाई लक्षित गरी उक्त मूल्य निर्धारण गरेको बताइन्। अन्य समयमा उक्त अपार्टमेन्ट ४५ लाख रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिइन्।
यता, सबैभन्दा महँगो अपार्टमेन्ट डाउनटाउन अपार्टमेन्टको रहेको छ। डाउनटाउन अपार्टमेन्टको २ करोड ८० लाख रुपैयाँसम्मको अपार्टमेन्ट रहेको सिनियर मार्केटिङ अफिसर सुष्मा राईले बताइन्। ललितपुरको धापाखेलमा रहेको यो कम्पनीको सस्तो दरको अपार्टमेन्टको मूल्य ५८ लाख रुपैयाँ छ।
त्यस्तै, रोडशो रियल स्टेटले बुढानीलकण्ठमा रहेको एक बेडरुमको अपार्टमेन्ट ७७ लाख रुपैयाँमा बिक्री गरेको छ। लिभिङ, डाइनिङ, बाथरुम र किचेनसहितको अपार्टमेन्ट ७७ लाख रुपैयाँदेखि माथि रहेको छ। त्यस्तै, सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले ८२ लाख रुपैयाँमा अपार्टमेन्ट बिक्रीमा राखेको छ। ललितपुरको चापागाउँमा रहेको साउथिन ग्रिन हाउजिङमा साढे २ आनामा बनेका घर ९५ लाख रुपैयाँमा बिक्री गरिरहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।