राजविराज– मुस्लिम समुदायको मुख्य पर्व इद–उल–फित्रको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरे पनि सप्तरी लगायत प्रदेश २ का न्यायापालिका र बैंक तथा वित्तीय संस्थाहरु भने सञ्चालनमा आएका छन्।
उच्च अदालत जनकपुर राजविराज इजलास, जिल्ला अदालत राजविराज, सरकारी वकिलको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड लगायतका सरकारी कार्यालय सञ्चालनमा छन्। प्रदेश सरकारले बिदा दिने निर्णय गरे पनि माथिल्ला निकायले बिदाका बारेमा निर्देशन नगरेको र क्यालेन्डरमा पनि बिदा नभएकाले कार्यालय सञ्चालन गरिएको सम्बन्धित कार्यालयले जनाएका छन्।
उच्च अदालत जनकपुर राजविराज इजलासको काम निरन्तर चलिरहेको छ भने जिल्ला बारको आग्रहमा जिल्ला अदालतको पेसी बाहेकका सम्पूर्ण क्रियाकलाप सञ्चालनमा आएको मुख्य न्यायाधीश हरिशचन्द्र ढुंगानाले जानकारी दिए। सर्वोच्च अदालतले बिदाबारे निर्देशन जारी नगरेपछि न्यायालयको काम रोक्न नमिलेको उनको भनाइ छ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक भोला निरौलाले राष्ट्र बैंकबाट बिदाको बारेमा जानकारी नआएको र क्यालेन्डरमा पनि बिदा उल्लेख नभएको पाइएकाले सेवालाई निरन्तरता दिइएको बताए। सप्तरीमा जिल्ला प्रशासन कार्यालय लगायतका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द छन्। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालय बन्द नभई सेवाग्राही नआएपछि आफूहरु निस्किएको बताए।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बिदाको दिनमा पनि कार्यालय खोलेर सरकारी निर्णयको अवमूल्यन गरेको प्रतिक्रिया दिए।
‘सरकारी निर्णयलाई अवमूल्यन गर्नु घोर आपत्तिजनक छ’, उनले भने, ‘केही कार्यालयले अहिले पनि संघीयतालाई स्वीकार गर्न नसकेको यसले प्रस्ट पार्छ।’
प्रदेश सरकारले सम्पूर्ण कार्यालय र संघसंस्थालाई आफ्नो नियन्त्रणमा ल्याउन बाध्यकारी नियम बनाउने उनले बताए। प्रदेश सरकार र संघीय सरकारका बीचमा समन्वयको पनि अभाव देखिएकाले यस्को निराकरणका लागि आगामी दिनमा ठोस कदम चालिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।