काठमाडौं- मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने वाणिज्य बैंकहरूबीचको ‘भद्र सहमति’ तोडिएसँगै ब्याजदर बढाउन तँछाडमछाड सुरु भएको छ। बैंकहरुमा अझै पनि तरलता (लगानीयोग्य रकम) सहज भइनसकेकाले ब्याजदर बढाउने होड सुरु भएको एक बैंकरले बताए।
आइतबार बसेको बैंकर्स संघको बैठकले करिब ६ महिनाअघिको ‘भद्र सहमति’लाई अब निरन्तरता नदिने निर्णय गरेको थियो। निर्णय भएको भोलिपल्टै एनआइसी एसिया बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्यायो भने सिभिल बैंकले १२.२२ र सेञ्चुरी कमर्सियल बैंकले बढाएर साढे १२ प्रतिशत पुर्याइसकेका छन्।
यसरी बैंकहरुले अस्वाभाविक रुपले ब्याजदर बढाउँदा लगानीकर्तामा नकारात्मक असर परेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए। ‘बैंकहरुले अस्वाभाविक रुपले ब्याजदर बढाउँदा यसको प्रत्यक्ष असर औद्योगिक क्षेत्रमा परेको छ। जसले लगानीकर्तालाई लगानी गर्न निरुत्साहित पारेको छ,’ उनले भने, 'दीर्घकालीन रुपमा बैंकको ब्याजदरलाई स्थिर राख्न नियामक निकायले सक्रियता बढाउनुपर्छ।'
यता नेपाल राष्ट्र बैंकले भने ब्याजदर नियन्त्रणको नीति लिने भन्दा पनि मौद्रिक नीतिमार्फतै सम्बोधन गर्ने तयारी थालेको छ। ‘बजारको आवश्यकता अनुसार बैंकहरुले ब्याजदर बढाउने गर्छन्। यो स्वाभाविक भए पनि ब्याजदरको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न मौद्रिक नीतिमार्फत सम्बोधन हुन्छ,’ बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने।
बैंकहरुबीच ब्याजदर बढाएर एकअर्काको निक्षेप तान्ने होड चलेपछि गत पुसको दोस्रो साता बैंकर्स संघले मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो। त्यसको एक महिनापछि फेरि अर्को सहमति गरी संघले साधारण बचतमा पनि ८ प्रतिशतको सीमा लगायो। अहिले ती दुवै सहमति हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।