१. इजिप्टका गोलकिपर इसाम इल हडारी ४५ वर्ष ६ महिना उमेरका भए। यदि उनले रसिया विश्वकप खेलेमा बढी उमेरमा विश्वकप खेल्ने रेकर्ड बनाउनेछन्। यसअघि बढी उमेरमा विश्वकप खेल्ने खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन्। उनले गत संस्करणको विश्वकप खेल्दा ४३ वर्ष ३ दिन उमेरका थिए।
२. हंगेरीको नाममा विश्वकपमा धेरै खेलसम्म अपराजित रहने रेकर्ड छ। हंगेरीले १९५४ देखि १९६६ सम्ममा १३ खेलसम्म हारेको थिएन। यसपटकको विश्वकपमा जर्मनीले यो रेकर्ड तोड्ने सम्भावना छ। सन् २०१० को विश्वकपको सेमिफाइनलमा स्पेनसँग १-० गोलले हारेयता जर्मनी ८ खेलमा अपराजित छ। रसियामा नहारी सेमिफाइनलमा पुगे जर्मनीले अपराजित खेलको रेकर्ड बनाउनेछ।
३. विश्वकपमा सर्वाधिक गोल गर्ने कप्तानको रेकर्ड अर्जेन्टिनाका डिएगो म्याराडोनाको नाममा छ। उनले कप्तान रहँदा ६ गोल गरेका थिए। उनको रेकर्ड अर्जेन्टिनाकै लिओनल मेसीले तोड्न सक्नछन्। मेसीले कप्तानको रुपमा विश्वकपमा ३ गोल गरेका छन्।
४. विश्वकपमा सवैभन्दा बढी गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोस हुन्। उनले १६ गोल गरेका थिए। रसिया विश्वकप खेल्ने मध्ये बढी गोल गर्ने खेलाडी जर्मनीका थोमस मुलर हुन्। उनले ३ विश्वकपमा गरी १० गोल गरेका छन्। क्लोसको रेकर्ड तोड्न उनी ६ गोलले टाढा छन्।
५. मेक्सिकोको डिफेन्डर राफा मार्क्युज पाँचौं पटक विश्वकप खेल्दैछन्। उनले २००२ मा जापान र कोरियामा भएको विश्वकपदेखि टिममा स्थान बनाउँदै आएका छन्। उनी रसियामा मैदान उत्रिएमा पाँच वटा विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन्।
६. विश्वकपमा सर्वाधिक बराबरी खेल्ने टिम बेल्जियम हो। उसले १९९८ र २००२ को विश्वकपमा गरी ५ खेलमा बराबरी खेलेको थियो। कोस्टारिकाले गत विश्वकपमा तीन खेलमा बराबरी खेलेका थियो। यो विश्वकपमा कोस्टारियकाले बराबरीको रेकर्ड तोड्न सक्छ।
७. अस्ट्रेलियाका टिम काहिल चौथो पटक विश्वकप खेल्दैछन्। उनले यसअघिका तीन वटै विश्वकपमा गोल गरेका थिए। यदि उनले रसियामा गोल गर्न सके उनी चौथो विश्वकपमा गोल गर्ने चौथो खेलाडी बन्नेछन्। यसअघि लगातार चौथो विश्वकपमा गोल गर्ने इतास उवे सिलर, पेले र मिरोस्लाभ क्लोसले बनाएका थिए।
८. फ्रान्सले २०१८ को विश्वकप जिते प्रशिक्षक डिडियर डेस्चाम्सले रेकर्ड बनाउनेछन्। उनी खेलाडी र प्रशिक्षकको रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति हुनेछन्। उनको कप्तानीमा फ्रान्सले १९९८ को विश्वकप जितेको थियो।
९. उरुग्वेका प्रशिक्षक ओस्कार ताबारेज र पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस दुवैको उमेर जोड्दा १ सय ३५ वर्षको हुन्छ। दुई टिम अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने सम्भावना छ। यदि दुई टिम एकआपसमा भिडे रेकर्ड बन्नेछ। यसअघि दुई टिमका प्रशिक्षकको उमेर कुल उमेर १ सय ३३ वर्ष भएको रेकर्ड छ। दक्षिण अफ्रिका विश्वकपमा ग्रिसका ओटो रेहगेल र नाइजेरिका लार्स लागेरब्याकको कुल उमेर १ सय ३३ वर्षको जियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।