काठमाडौं- मनाङ जिल्लामा ६ सय जनसंख्यामध्ये ४ सय १० जनाको हितग्राही खाता (डिम्याट एकाउन्ट) रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताएका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा अपनाइने धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको छलफलमा बोल्दै बोर्डका अध्यक्ष कार्कीले वित्तीय साक्षरताले फड्को मारेको बताएका छन्।
‘बोर्डले चालू वर्षमा वित्तीय शिक्षामा उल्लेख्य कार्य गरेको र पुँजी बजार सम्बन्धी ज्ञान ग्रामीण भेगमा पुगेको छ’, उनले भने।
उनले चालू आर्थिक वर्षमा २५ वटा वित्तीय शिक्षाको कार्यक्रम गर्ने भनिएकोमा वर्ष सकिन एक महिना बाँकी छँदै ३० वटा कार्यक्रम सञ्चालन गरिसकेको बताए। उनले अबका दिनमा बोर्डले पुँजी बजारमा प्रविधिको विस्तार गर्ने बताए।
ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बोर्डले सेयर राफसाफ कार्य छिटो गर्न नयाँ नीति ल्याउनुपर्नेमा जोड दिए। नेपाल स्टक एक्सचेन्जले अनलाइन ट्रेडिङ सिस्टम सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ। यसको सञ्चालन गर्न छुट्टै नीति निर्देशन आवश्यक रहेको उनले बताए। साथै, उनले उक्त प्रविधि सञ्चालनमा आएसँगै धितोपत्र दलाल कम्पनीले डेढदेखि २ करोड रुपैयाँसम्म लगानी गर्नुपर्ने बताएका छन्।
यता, सेयर लगानीकर्ताको छाता संगठन इन्भेस्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले व्यक्तिगत लगानीकर्ताका लागि निर्धारण गरिएको बोनस र हकप्रदको लाभकर नलगाइदिन अर्थमन्त्रालयलाई सुझाव दिन आग्रह गरेका छन्। उनले सरकारले करको दायरा फराकिलो बनाउने हो भने ग्रामीण भेगसम्म पुँजी बजार विस्तार गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।