काठमाडौं– नेपालको सेयर बजारमा कहिलेकाहीँ ‘तर्कले भन्दा पनि अर्कै अद्भुत शक्तिले प्रभाव पार्ने’ गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र प्रताप शाहले बताएका छन्।
उनले नेपाल बैंकको अधिकांश सूचकहरु बलियो हुँदाहुँदै पनि ‘अद्भुत शक्ति’को कारण दोस्रो बजार(पूँजी बजार)मा बैंकको सेयर मूल्य उच्च हुन नसकेको बताए। उनले भने,‘अन्य वाणिज्य बैंकहरुको भन्दा वित्तीय रुपले माथि रहेका नेपाल बैंकको दोस्रो बजारमा सेयर मूल्य अस्वाभाविक रुपले तल छ। सायद अद्भुत शक्तिको असर होला?’
सेयर लगानीकर्ताहरुले भने बैंकले लगानीकर्ताको अधिकार खोसेकाले नेपाल बैंकको सेयर मूल्य दोस्रो बजारमा बढ्न नसेकेको बताउँदै आएका छन्। २१ वर्षदेखि नेपाल बैंकले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन।
यता, बैंकका सिइओ शाहले विगतका वर्षहरुमा बैंकको सूचक नकारात्मक भएकाले लाभांश दिन नसकेको बताए। उनले बैंकको अहिले सबै सूचक सकारात्मक भएकाले आगामि वर्षदेखि बैंकले लगानीकर्तालाई लाभांश दिने दावी गरेका छन्।
सिइओ शाहले बैंकले जारी गर्न लागेको थप सार्वजनिक निष्काशन (एफपिओ)बाट जम्मा हुन आउने सबै रकम लगानीकर्तालाई लाभांश दिने जनाए। उनले बैंकले जारी गर्न लागेको एफपिओलाई क्रेडिट रेटिङमा ३ प्लस दिएकाले यसको अवस्था राम्रो रहेको बताए।
बैंकले हाल नेपाल सरकारको ६२ दशमलब २१ प्रतिशत सेयर स्वामित्वलाई ५१ प्रतिशतमा झार्न एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको छ।
त्यस्तै उनले बैंकले यहि वर्ष २५ वटा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। हाल सञ्चालित र उक्त नयाँ शाखाहरुबाट २५ वटा शाखालाई स्मार्ट शाखाको अवधारणामा रुपान्तरण गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।