विदुर- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित जिल्ला जनपरिषद् नुवाकोटले शेरा दरबार र ककनीस्थित रानीपौवामा रहेको साझा सेवा संस्थाको जग्गा कब्जामा लिएको छ।
आज बिहान शेरा दरबारमा रहको सयौं रोपनी र साझा सेवाको २८१ रोपनी जग्गा कब्जा गरिएको जिल्ला जनपरिषद् नुवाकोटका अध्यक्ष विन्तोष सिलवाल (अशोक) ले बताए।
हदबन्दीभन्दा बढी रहेको शेरा दरबारको जग्गा भूमाफियाले कृषि ट्रष्टको नामा दर्त गराई करोडौं रकममा बेचबिखच गरेको उनको दाबी छ। सो जग्गा विकेश श्रेष्ठको नेतृत्वमा भोगचलन हुँदै आएको जनाउँदै जनपरिषद्ले कब्जामा लिएको बताएको छ। श्रेष्ठलाई सो जग्गा छाडेर जान पनि सो पार्टीले चेतावनी दिएको छ।
साझा सेवा संस्थाको जग्गामा पनि अनियमितता भएको भन्दै कब्जामा लिएको परिषद्ले जनाएको छ। संस्थाले प्रयोग गरेको जमिन कोही कसैसँग नकिनेको भन्दै उक्त जग्गा पनि कब्जामा लिइएकाले अब कसैले किनबेच नगर्नसमेत परिषद्ले चेतावनी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।