काठमाडौं– नेपाली युवाको रोजाइमा पछिल्लो समय रोजगारीको लागि उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया पर्ने गरेको छ। रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियाली भाषा परिक्षा उत्तीर्ण गरेपछि थोरै लागतमा राम्रो कमाइ हुने देश भएकोले नै कोरिया रोजगार गन्तव्यका रुपमा धेरै नेपाली युवाको रोजाइमा पर्ने गरेको हो।
दक्षिण कोरियाले इपिएस लागू गरेका १५ देशबाट हेरक वर्ष भाषा परिक्षामार्फत कोटा निर्धारण गरेर आप्रवासी कामदार लिँदै आएको छ। यो वर्ष कोरिया सरकारले मानव संसाधन विकास (एचआरडी)मार्फत ७ हजार ३ सय कोटा नेपालका लागि छुट्याएको छ।
आजदेखि नवौँ कोरियाली भाषा परिक्षा काठमाडौं, ललितपुर र पोखराबाट सञ्चालन हुँदैछ। जेठ २६ र २७ गते दुई दिन सञ्चालन हुने परिक्षाका लागि गत चैतमा ८२ हजारभन्दा बढी युवाले आवेदन भरेको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखा कार्यालय, काठामाडौंले जनाएको छ। परिक्षाका लागि ३ सय कर्मचारी र २ सय प्रहरी प्ररिचालन गरिएको शाखाले जानकारी दिएको छ। परिक्षा दुई सिफ्टमा गरी बिहान ८ देखि १२ र दिउँसो १ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।
इपिएस कोरियाली भाषा परिक्षा दिन काठमाडौं उपत्यका बाहिरबाट आएका परिक्षार्थीले देशमा रोजगारीको अवसर नहुदाँ बाध्यतावश दुःख गर्न अर्काको देशमा जानुपरेको बताउँछन्। नेपालमा बेरोजगार भएर यतिकै बस्नुभन्दा ६÷७ महिना कोरियन भाषा पढेर पास गरियो भने कमाई पनि हुने र विदेश पनि घुम्न पाइने भएकाले कोरियाली भाषाको परिक्षा दिन लागेको धरानबाट परिक्षामा सामेल हुन आएकी अर्पणा गुरुङले बताइन्। उनी टाइम्स इन्टरनेसनल परिक्षा केन्द्र डिल्लीबजारबाट परिक्षा दिँदै छिन्।
‘नेपालमा रोजगारी नपाएपछि कोरियाका लागि प्रयास नगेर के गर्नु त?’, उनले प्रश्न गरिन्। अर्पणाले स्नातकसम्म अध्ययन गरेको बताइन्।
यस्तै, विविएसम्मको अध्ययन गरेका झापाका दीप तामाङ पनि कोरियाली भाषा परिक्षाका लागि काठमाडौंमा नै छन्। उनको पनि अर्पणाको जस्तै बुझाइ छ। ‘आफूलाई आवश्यक मात्रामा पढियो तर त्यती दुःख गरेर पढेपनि हाल खाली बस्नुपरेको छ। त्यसकारण केही वर्ष कोरिया जाउँ भनेर परिक्षा दिन आएको हुँ।’, तामाङले भने।
सरकारले रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान नदिँदा नेपाली युवा जोखिम मोलेर विदेश जानुपरेको धनगढीका चुणामणि ढुगांनाले बताए। आर्यआर्जन र सुखद भविष्यका लागि काम नपाएपछि कोरिया जानुको विकल्प नभएको उनको भनाइ छ।
यस्तै, राज्यले तत्काल रोजगारी दिनपनि नसक्ने र यस्तो अवस्थामा बेरोजगार भएर बस्नुभन्दा कोरियाका लागि प्रयास गरेको मैतीदेवीस्थित युनिभर्सल परिक्षा केन्द्रमा परिक्षा दिन आएका धादिङका जीवन कुइँकेलले बताए। ‘अन्य देशभन्दा मौसम, काम तथा कमाईको हिसाबले पनि कोरिया राम्रो लागेको छ। सरकारले हाम्रो बारेमा ध्यान दिन सकेकै छैन, अनि कोरिया नगएर कहाँ जाँउ त?’
उनीहरु त केवल प्रतिनिधि पात्र मात्र हुन्। अर्पणा, दीप, चुणामणिजस्ता हजारौं युवा बेरोजगारीकै कारण बाध्यतावश कोरिया पलायन हुने तयारीमा छन्। यसले एकातर्फ बेरोजगारीको समस्या केही मात्रामा समाधान त गरेको तर अर्कोतर्फ देशमा आवश्यक पर्ने श्रमशक्तिको अभाव भईरहेको श्रमविद्हरु तर्क गर्छन्। देशको समृद्धीको लक्ष लिएको सरकारको योजनामा पनि यसले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
१० वर्षमा ५६ हजार नेपाली युवा कोरिया पलायन
सरकारले अर्ध–दक्ष (सेमीस्किल्ड) कामदार विदेश पठाउने योजना नै रोजगार अनुमति प्रणाली (इपिएस) हो। नेपालले सन् २००८ देखि दक्षिण कोरियामा इपिएस अन्तर्गत अर्ध–दक्ष कामदार पठाउन सुरु गरेको हो। दक्षिण कोरिया सरकारले देशका साना तथा मझौला उद्योगमा अर्ध–दक्ष आप्रवासी कामदार कोरियाली भाषा परिक्षामार्फत लिँदै आएको छ।
नेपाल सरकार र कोरिया सरकारबीच सरकारी स्तरमा सन् २००७ जुलाईमा त्रिपक्षीय श्रम सम्झौता भएको थियो। त्यसपश्चात् वैदेशिक रोजगार विभाग र एचआरडी शाखाका बीचमा सम्झौता कार्यान्वयन भएर नेपाली युवाका लागि दक्षिण कोरिया जाने बाटो खुल्ला भएको थियो। पछिल्ला ८ परिक्षामार्फत कोरियाली भाषा परिक्षा उत्तीर्ण गरेर करिब ५६ हजार नेपाली युवा कोरिया पुगेका छन्। कोरिया पुगेका कामदारले मासिक करिब १ लाख ५० हजार रुपैयाँभन्दा बढी कमाउने गरेको बताइन्छ।
राम्रो कमाइ र सुरक्षित रोजगारी भएका कारण नेपाली युवाको आकर्षणमा कोरिया पर्ने गरेको हो।
कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रमा रोजगारी
नेपालबाट कृषि र उत्पादनमूलक गरी २ क्षेत्रमा मात्र कोरियाले कामदार लैजाने गर्दछ। उत्पादनमूलक क्षेत्रमा सामान्यतया फलाम घोट्ने, पगाल्ने, पिट्ने, रिसाइक्लिङ गर्ने, कपडा बनाउने, प्लास्टिकबाट आकार निकाल्ने, रसायनबाट सामानको प्रशोधन गर्ने, रङ भर्ने तथा विभिन्न तयारी वस्तुको प्याकिंगका साथै खानाका परिकार तयार पार्ने काम गर्नुपर्ने हुन्छ।
कृषिमा भने सिलामको पात टिप्ने, च्याउ खेती, विभिन्न तरकारी तथा फलफूल उत्पादन तथा प्रशाेधन पर्छन्। कृषिमा गएकाले पशुपालनतर्फ गाई फार्म, सुंगुर फार्म, घोडा फार्म लगायत कुखुरापालनतर्फ समेत काम गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।