काठमाडौं– सिन्डिकेट खडा गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अवैध ढंगले रकम असुल्दै आएका मेडिकल व्यवसायी विरुद्ध ठगी मुद्दामा बिगो रकम अत्यन्त न्यून तोकिएको छ।
मलेसिया जाने कामदारहरुबाट साढे दुई वर्षको अवधिमा साढे ५ अर्ब ठगी गरेका व्यवसायीको बिगो भने प्रहरीले २२ करोड ५६ लाख ५६ हजार मात्र भराउने निर्णय गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ।
सिन्डिकेट खडा गरेका ३९ मेडिकल व्यवसायीले माइग्राम्स, बायोमेट्रिक्स, भिएलएन, ओएसजी लगायतका ५ संस्थाबाट मलेसिया जाने कामदारसँग अवैधरुपमा रकम असुल्दै आएका थिए। यी संस्थाका सञ्चालकहरुले गएका साढे दुई वर्षमा विभिन्न शीर्षकमा अनुमानित आँकडा अनुसार साढे ५ अर्ब ठगी गरेको प्रहरीकै दाबी छ। तर, पक्राउ परेका र फरार भएका मेडिकल व्यवसायीमाथिको बिगो दाबी भने ठगी रकमभन्दा अत्यन्त न्यून गरिएको छ।
प्रहरीले गत जेठ ३ गते मलेसिया जाने कामदारलाई अवैध रुपमा ठगी गरेको आरोपमा २४ मेडिकल संस्थाका ४७ जनालाई पक्राउ गरेको थियो। जसमध्ये १४ जना कार्यालयमा काम गर्ने कर्मचारी परेको भन्दै केही दिनमा छाडिएको थियो। ठगीमा संलग्नमध्ये १२ जना मेडिकल सञ्चालक अझै फरार छन्।
प्रहरीले जम्मा २२ करोड ५६ लाख ५६ हजार बिगो दाबीसहित सरकारी वकिल मार्फत मेडिकल व्यवसायीलाई अदालतमा पठाएको छ।
एउटै अभियोगमा फरक–फरक बिगो
एउटै प्रकृतिको अभियोग भए पनि अदालतले व्यवसायीहरुलाई फरक–फरक परिमाणको धरौटी तोक्दै आएको छ। ठगी रकमको तुलनामा प्रहरीले अत्यन्त न्यून बिगो रकम दाबी गरी मुद्दा चलाएको छ।
प्रहरीले भने अनुसन्धानबाट पर्याप्त प्रमाण जुटाए पनि विभिन्न कारणले गर्दा ठगीअनुसारको बिगो तोक्न नसकेको स्वीकार गरेको छ।
कुन मेडिकलका कुन व्यवसायीलाई कति बिगो?
भिएलएनका रामप्रसाद श्रेष्ठले गत दुई वर्षमा २ अर्ब ८० करोड रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तर, श्रेष्ठमाथि २ अर्ब रुपैयाँ मात्रै बिगो तोकिएको छ।
रिहा हुँदै ठगीमा संलग्नहरु
ठगीको आरोपमा पक्राउ परेका व्यवसायीहरु अदालतको आदेशसँगै धरौटी राखेर रिहा भइरहेका छन्। पक्राउ परेकामध्ये काठमाडौं जिल्ला अदालतको आदेशमा १० जनाभन्दा बढी व्यवसायी धरौटी बुझाएर रिहा भइसकेका छन्। थप केही व्यवसायी धरौटीमा रिहा हुने क्रममा छन्।
कुन व्यवसायी कति धरौटीमा रिहा?
पक्राउ परेकामध्ये देवान राईमाथि २ करोड १२ लाख ३९ हजार रुपैयाँ बिगो दाबी गरिए पनि ५० लाख धरौटीमा रिहा भएका हुन्।
फरार व्यवसायी
ठगीमा संलग्न भएकामध्ये गोविन्द थपलिया, गोपाल गुरुङ, मुकुन्दप्रसाद पन्त, नवीन कँडेल प्रहरीको फरार रहेको प्रहरीले जनाएको छ।
यस्तै, पब्लिक हेल्थ केयरका महेशराज श्रेष्ठ, हिमालय डाइग्नोस्टिककी सुशीला खड्का, सुधा पोलिक्लिनिक दीपककुमार कार्की, सनसाइन मेडिकलका जीवन केसी, सिर्जना मेडिकलका कैलाश खड्का र प्रवीण तिवारी, डाइनास्टिक मेडिकलकी सुजाता भण्डारी, भ्याली मेडिकल सेन्टरकी गोपाल दाहाल र उद्धव थापा, साउथ एसियन हेल्थ केयरका कैलाश खड्का, अनमोल मेडिकलका दीपेन्द्रप्रसाद गुप्ता र फ्युजन पोलिक्लिनिकका बसुवास गिरी र कसमस मेडिकलकी गायत्री जिसी पनि फरार व्यवसायीको सूचीमा छन्।
उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।