मैमाना– उत्तरी अफगानिस्तानको फारयाब प्रान्तमा सुरक्षाकर्मीले तालिवानविरुद्ध लक्षित गरी चलाएको कारबाहीमा एक तालिवान कमाण्डर र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाका आधारमा तालिवान विद्रोही विरुद्ध गरिएको सुरक्षा कारबाहीमा सिरिन तागब जिल्लामा शनिबार बिहानै तालिवानका सैन्य आयोगका प्रमुख मलावी गुलिस्तान र उपप्रमुख मलावी मन्सूरको घटनास्थलमा नै मृत्य भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरुशले बताएका छन्।
तालिवान विद्रोहीका प्रभावशाली नेताको मृत्युपछि पारयाब, जाजवान र सारीपुल प्रान्तहरूमा विद्रोहीको मनोबल निकै कमजोर बनेको प्रहरी प्रवक्ता युरुशले दावी गरे।
फारयाब तथा सिरिन तगाक क्षेत्रमा सक्रिय तालिवान लडाकूहरूले आफ्ना गतिविधिलाई नियन्त्रण नगरेमा उनीहरूमाथि सशक्त कारबाही हुने चेतावनी सुरक्षाकर्मीले दिएको पनि प्रहरी प्रवक्ताले जनाउ दिए।
यसैबीच रक्षा मन्त्रालयका प्रवक्ता मोहम्मद रदमानेशले आफ्ना नेताको सुरक्षा कारबाहीमा मृत्यु भएपछि विद्रोही आक्रामक रूपमा प्रस्तुत हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सिरिन क्षेत्रमा थप बल पठाइएको बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।