काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टको पछिल्लो निर्णयले रोजगारका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार थपिने गरी आउन लागेका तीन सिन्डिकेटवाला संस्था हच्किएका छन्।
वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई विभिन्न ३ शीर्षकमा आर्थिक भार थप्ने तयारीका साथ केही संस्था नेपालभित्रबाटै खोल्ने गृहकार्य अन्तिम चरणमा पुगेको थियो। यद्यपि, श्रममन्त्री विष्टको रोजगारीमा जाने कामदारमाथि विभिन्न नाममा लगाइँदै आएको आर्थिक भार अन्त्य गर्ने घोषणापछि पनि ती संस्था खोल्नका लागि चलखेल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।
मलेसिया जाने कामदारलाई ओरिएन्टेसन क्लास (मलेसियन भाषा र नेपाली भाषामा), कामदारको दक्षता परीक्षण (दुवै भाषामा इस्किलिङ टेस्ट) र सुरक्षा गार्डका लागि बेग्लै तालिम तथा परीक्षण गर्ने नाममा तीन संस्था आउन लागेका थिए। यादि, यी तीन संस्था थपिएमा मलेसिया जाने कामदारलाई थप ३ हजार ५ सय रुपैयाँ आर्थिक भार पर्नेछ।
गत बिहीबार श्रम मन्त्रालयले रोजगारीमा जाने कामदारमाथि विभिन्न नाममा लगाइँदै आएको आर्थिक भार अन्त्य गर्ने घोषणा गर्दै त्यस्ता संस्था औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि यी तीन संस्था अन्यौलमा परेका थिए। मन्त्रालयले बन्द गर्ने निर्णय गरेकै संस्थाका केही व्यक्ति यी नयाँ संस्था खोल्न लागिपरेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार दलका नेता, पूर्व राजदूत र पूर्वमन्त्रीको सहयोगमा नेपालस्थित मलेसिया राजदूतवासका केही कर्मचारी, नेपालका केही व्यक्ति, मलेसियाका केही व्यक्ति मिलेर यी संस्था खोल्ने तयारीमा थिए। श्रम मन्त्रालयको निर्णयपछि उनीहरु पछि सरे पनि संस्था खोल्न आर्थिक प्रलोभन देखाई काम गर्न लागिपरेको स्रोतको भनाइ छ।
बायोमेट्रिक, माइग्राम, भिएलएन, वानस्पट सेन्टर र जिएसजी गरी ५ वटा संस्थाले विभिन्न शीर्षकमा कामदारसँग चर्को रकम लिँदै आएका थिए। यादि, यी तीन संस्था थपिएमा मलेसिया जाने कामदारले त्यहाँ जानुअघि २२ हजार खर्च गर्नुपर्ने अवस्था आउनेछ। मलेसिया नेपाली कामदारको आकर्षक गन्तव्य देशभित्र पर्छ। मलेसियामा वार्षिक रोजगारीका लागि १ लाख ५० हजारभन्दा बढी नेपाली जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।