काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवको नाममा राखेका छन्।
ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना १ पैसा जमिन रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त जमिनको मूल्य १ करोड ५ लाख बराबरको हुने यादवले विवरणमा उल्लेख गरेका छन्।
बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा यादवले सिरहाको ३ ठाउँमा, धनुषाको ४ ठाउँमा र लतिलपुरमा भएको जमिन पुर्ख्यौली, स्वआर्जन, ऋण तथा सापटीबाट खरिद गरिएको उल्लेख छ। श्रीमती प्रमिलादेवि यादवको नाममा सिरहाको रामनगर र धनुषाको सवेलामा घर रहेको उल्लेख छ। सिराहाको रामनगरमा साढे २ धुरमा घर रहेको यादवको सम्पत्ति विवरणमा उल्लेख छ।
यादवले कुल २ करोड ५१ लाख बराबरको सम्पत्ति श्रीमतीको र भाइको नाममा राखेका छन्। श्रीमतीको नाममा सिरहामा २० लाख र २५ लाख गरी ४५ लाखको करिब १३ धुर जमिन रहेको त्यस्तै श्रीमतीकै नाममा धनुषाको सवेलमा ४ कित्ता सम्पत्ति रहेको विवरणमा उल्लेख छ।
धनुषामा १ लाख ६५ हजार, १ लाख २० हजार र ४८ लाख मूल्य बराबरको सम्पत्ति श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख छ।
सुन डेढ तोलाको सिक्री ४ वटा र अन्य गहना गरी जम्मा १६ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहना विवाह, मुख देखाइमा श्रीमतीको माइती र आफन्तबाट प्राप्त भएको विवरणमा उल्लेख छ।
यादवले हालसम्म कुनै पनि ऋण नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
यादवले श्रीमती र आफूगरी तीन वटा बैंक खातामा रकम मौज्दात रहेको देखाएका छन्। आफ्नो नाममा नेपाल एसबीआई बैंकमा ६९ हजार ६ सय ९१, नेपाल इन्भेष्टमेन्ट बैंकमा २ लाख ७४ हजार ६ सय ९० र श्रीमती प्रमिलादेवीको नाममा इन्भेष्टमेन्ट बैंकमा १ लाख ९८ हजार ४ सय ९० रुपैयाँ रहेको उल्लेख छ।
श्रीमतीको नाममा एउटा गाडी रहेको विवरणमा उनले उल्लेख गरेका छन्। श्रीमतीको नाममा बा १४ प ७३० नम्बरको गाडी रहेको यादवको सम्पत्ति विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।