काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबारबाट छलफल हुँदैछ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुलाई आफ्ना धारणा राख्न प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार नीति तथा कार्यक्रममाथि शुक्रबारसम्म छलफल हुनेछ। सरकारी कार्यक्रममाथि सत्तासमर्थित संघीय 8वादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभामा समेत गरी ८ वटा संशोधन हालेका छन्।
राजपा र फोरम नेपालले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधन नपरेको र संघियता अनुरुप कार्यक्रम नआएको भन्दै संशोधन प्रस्ताव दर्ता गराएका छन्। उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १७ जना सांसदले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्मानजनक पदावली प्रयोग हुनुपर्ने लगायतका संशोधन दर्ता गराएका छन्।
कांग्रेसले संघियतामा देश गएपनि नीति तथा कार्यक्रम केन्द्रिकृत शासन शैलीबाट सञ्चालन गर्ने मनसायले आएको भन्दै संशोधन दर्ता गराएको बताइएको छ।
नीति तथा कार्यक्रमका बारेमा राष्ट्रिय सभामा भने बिहीबारबाट दुई दिन छलफल हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।