भैरहवा– जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समयमा काम सम्पन्न नगर्ने ठेकेदारको सूची संकलन गर्न थालेको छ।
जिल्लामा सञ्चालित साना–ठूला आयोजनाहरुको ठेक्का लिएर लापरवाहीपूर्वक काम गर्ने ठेकेदारहरुको सूची संकलन थालेको रुपन्देही प्रशासनले जनाएको छ।
गृह मन्त्रालयले आयोजनाहरुको ठेक्का लिएर लापरवाहीपूर्वक काम गर्ने ठेकेदारहरुको सूची तयार पारेर एक सातामा मन्त्रालयमा पठाउने निर्देशन दिएपछि प्रशासन कार्यालयले सूची संकलन थालेको हो। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले विकास–निर्माणमा लापरवाही गर्ने ठेकेदारको सूची तत्काल उपलब्ध गराउन भन्दै जिल्लामा सञ्चालित आयोजना प्रमुखलाई बोलाएर छलफल समेत गरेका छन्।
प्रमुख जिल्ला अधिकारी रानाले केही आयोजनामा सरकारी निकायकै कारण प्राविधिक समस्या रहेर ढिलाइ भएको पाइएको बताए।
‘मन्त्रालयको परिपत्र अनुसार आयोजना प्रमुखहरुलाई बोलाएर लापरवाही गर्ने ठेकेदारको सूची केही दिनभित्रै उपलब्ध गराउन निर्देशन दिइसकेको छु’, उनले भने, ‘केही आयोजनाहरु सरकारी निकायकै कारण प्राविधिक समस्या र बजेट अभावले काममा ढिलाइ भएको पनि पाइएको छ।’
बैठकमा प्रमुख जिल्ला अधिकारीले जिल्लामा सञ्चालित योजनाको प्रगति सुस्त रहेको भन्दै तोकिएको समयभित्रै आयोजनाहरु पूरा गर्न निर्देशन दिएका थिए। बैठकमा सहभागी विभिन्न आयोजनाका प्रमुखहरुले समयमा आयोजना सम्पन्न गर्न सरकारी निकायबाटै समस्या उत्पन्न भएकाले काममा ढिलाइ भएको र केही बहुवर्षीय आयोजना बजेट अभावका कारण काममा ढिलाइ भएको गुनासो पोखेका थिए।
बैठकमा डिभिजन सडक कार्यालय बुटवल, बुद्ध सर्किट आयोजना, लुम्बिनी विकास कोष, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना र भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका प्रमुखहरुको उपस्थिती रहेको थियो।
जिल्लामा ५१ वटा सडकसहित ९० भन्दा बढी साना–ठूला आयोजनाहरु सञ्चालनमा रहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।