पोखरा– पोखरा लेखनाथ महानगरपालिकाले कुहिने र नकुहिने फोहरको स्रोत पहिचान गरी वर्गीकरण अभियान थालेको छ। असारको पहिलो सातासम्ममा फोहरको वर्गीकरण अभियान सफल पार्ने गरी महाननगरले काम गरिरहेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन्।
पोखराका बासिन्दाले पहिले कुहिने र नकुहिने फोहर एउटै गाडीमा फाल्ने गरेका कारण बानीमा परिवर्तन ल्याउन केही समय लाग्ने महाशाखा प्रमुख बराल बताउँछिन्। ‘नागरिकमा चेतना आइसकेको छैन। कुहिने र नकुहिने फोहर छुट्याउनै गाह्रो छ।,’ बरालले भनिन्, ‘अहिले वार्मअप गरिरहेका छौं। यसले भोलिका दिनमा सजिलो हुनेछ।’
फोहर उठाउन महानगरले अहिले ३२ वटा गाडी प्रयोग गरिरहेको सरसफाइ शाखाका नायबसुब्बा हर्कबहादुर गायकले जानकारी दिए। ती गाडीले महानगरभरी दिनमा १ सय ६० टन फोहर संकलन गर्छन्। फोहर संकलन गर्न महानगरपालिकाको नगरसभाले तोकेअनुसार मासिक ८ रुपैयाँदेखि ९ हजारसम्म लिने गरिएको छ।
फोहरको वर्गीकरण पोखरा महानगरपालिका–३, ले चैत १ गतेबाट नै थालेको हो। त्यसैगरी वडा–११ ले चैत १ गतेबाट र ७ नम्बर वडाले जेठ १ गतेबाट सुरु गरेका छन्। वडा नम्बर १७ ले जेठ १५ गतेबाट फोहरको वर्गीकरण गरी संकलन गर्ने बताइएको छ। वडा नम्बर २, ५, १२, १३ र २९ मा पनि चाँडै नै यो अभियान चलाइने बरालले जानकारी दिइन्। महानगरले अहिले फोहर वर्गाीकरणको पूर्वभ्यासका लागि सम्बन्धित वडामा छलफल कार्यक्रम गरिरहेको छ।
कौसी खेतीको अवधारणा
कुहिने फोहोरलाई सकेसम्म घरमै व्यवस्थापन गर्न कौसी खेतीको अवधारणा महानगरले ल्याएको छ। जनघनत्व बढी भएको ठाउँमा कम्पोस्ट मलका लागि छुट्टै ठाउँको अभाव हुने भएकाले कौसीमै तरकारी खेती गर्न प्रेरित गरिरहेको बरालले बताइन्। ‘कुहिने फोहरलाई आफ्नो घरको कौसीमा नै तरकारी खेतीमा प्रयोग गर्न सकिन्छ। अहिले सकेसम्म त्यसैमा जोड दिइरहेका छौँ।,’ उनले भनिन् । महानगरले कौसीखेतीको तालिम पनि दिँदै आएको छ।
फोहोरको वर्गीकरण नभए वैज्ञानिक व्यवस्थापन नहुने महाशाखा प्रमुख बरालले बताइन्। ‘वर्गाीकरण नै भएन भने त आम्दानी हुने फोहर कुन हो? मल हुने फोहर कुन हो थाहा नै हुँदैन,’ उनले भनिन्, ‘हामीले पैसालाई नै पुरिरहेको अवस्था छ।’
फोहरको वर्गाीकरणमा बानी बसाल्न सकिए ‘ल्यान्डफिल्ड साइट’ नै नचाहिने बरालको भनाइ छ। फोहरको वर्गीकरण गर्दा ‘अपरेसन कस्ट’ बढी लाग्ने उनले बताइन्। प्रत्येक वडामा सकेसम्म कुहिने र नकुहिने फोहर उठाउन छुट्टाछुट्टै गाडीको व्यवस्था गर्ने र सम्भव नभएमा चलनचल्तीमै रहेको गाडीलाई छुट्टै संकेत बनाएर प्रयोग गरिरहेको बरालले जानकारी दिइन्।
जथाभावी फोहर फाल्नेलाई १ लाखसम्म जरिवाना
फोहर व्यवस्थापन गर्न महानगरले ‘फोहर व्यवस्थापन नियमावली–२०७४’ बनाएको छ। नियमावली २०७४ चैत २८ गतेको नगरसभाले पारित गरेको हो। नियमावली अनुसार फोहरको वर्गीकरण नगरे प्रत्येकपटक नै ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ। ‘सकेसम्म कोही पनि नागरिक कारबाहीमा नपरुन् भन्ने छ तर अटेरी गर्नेलाई हामी छोड्दैनौं,’ बरालले भनिन्। गाडीमा फोहर नफाली बाटोमा फाल्नेलाई समेत विभिन्न ढंगबाट पत्ता लगाइ कारवाही गरिरहेको उनको भनाइ थियो। सार्वजनिक स्थानमा फोहर गर्नेलाई फोहरको प्रकृति हेरी १ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था नियमावलीमा छ।
नकुहिने फोहरलाई ल्यान्डफिल्ड साइडको एक ठाउँमा राख्ने र त्यहाँ रहेका महानगरका स्वयम्सेवकले छुट्याउने काम गर्छन्। त्यसरी छुट्याइसकेपछि निजी कम्पनी ‘आर्क दी इन्जिनियरिङ’ले व्यवस्थापन गर्छ। सो कम्पनीले महानगरलाई वार्षिक ८ लाख रुपैयाँ दिनेगरी सम्झौता भएको छ। कम्पनीले गएको २ वर्षदेखि नै फोहर संकलन गरिरहेको छ।
व्यवस्थापनमा ‘पिपिपी मोडल’
महागरको फोहर व्यवस्थापन गर्न ८ वटा वडाबाहेक सार्वजनिक निजी साझेदारी(पिपिपी) मोडलअनुसार काम भइरहेको छ। यस मोडलअनुसार फोहर संकलन गरेबापतको रसिदबाट ८० प्रतिशत आम्दानी सम्बन्धित संस्थाले र बाँकी २० प्रतिशत महानगरको खातामा जम्मा हुन्छ। तर महानगरकै मातहतमा फोहर संकलन गर्नेमा १४, १८, २०, २१, २२, २३, २४ र २५ नम्बर वडा छन्।
महानगरले सोचेजस्तो सरसफाइ अभियान सशक्त रुपमा अघि नबढेकाले होटल व्यवसायीलाई फोहरको वर्गीरणसहित उचित व्यवस्थापन गरिदिन बरालले आग्रह गरिन्। घरबाट निस्केका फोहर महानगरको गाडी नआउँदासम्म घरमै राख्न उनले सूचित गरिन्। महानगरभित्र पर्चा, पम्पेल्ट, ब्यानर आदिले फोहर गर्ने गरेको उनको भनाइ थियो। घरपालुवा जनावरलाई पनि बाटोमा शौच गराउन ल्याए कारबाही गरिने महानगरले जनाएको छ। त्यसका लागि महानगरले चाँडै सूचना जारी गर्ने बरालले जानकारी दिइन्।
महानगरको फोहर व्यवस्थापन गर्न मरेका गाईभैंसी मुख्य समस्याका रुपमा आएको महानगरले बताएको छ। ‘जहाँ गाईभैंसी मरे त्यहीं गाड्ने भन्ने नियम छ तर महानगरमा कहाँ गाड्ने त?’, बरालले प्रश्न गरिन्। महानगरमा मरेका गाईभैंसी गाड्न ठाउँ अभाव भएकाले सार्वजनिक ठाउँमा सार्वजनिक भवन बनाउन नहुने उनको तर्क छ। ‘सार्वजनिक ठाउँमा ठूला बिल्डिङ नबनाएर मरेका गाईभैंसी पुर्ने ठाउँ बनाउनुपर्छ,’उनले भनिन्।
महानगरको फोहर उठाउने गाडी बिहानै ७ बजे नै ‘फिल्ड’मा जाने र मुख्य बजारमा ७ देखि १५ दिनको फरकमा जाने शाखाका नायबसुब्बा गायकले जानकारी दिए। महानगरले अहिले एउटा गाडीमा १ चालक र २ सहयोगी गरी ३ जनाका दरले कामदार खटाएको छ। सरसफाइ क्षेत्रमा काम गर्ने कर्मचारी ७० जना छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।