काठमाडौं– उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाइ सुरु गरेको छ। सार्वजनिक यातायातमा सुधार र ट्राफिक नियम पालना गर्ने संस्कृति विकास गर्न कडाइ गर्न लागिएको हो। जस अनुसार आइतबारदेखि उपत्यकामा कुनै पनि माइक्रोबसहरुले सिट संख्याभन्दा बढी यात्रु बोक्न पाउने छैनन्।
गत बुधबार गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न निर्देशन दिएपछि कडाइ सुरु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबारदेखि सिट संख्याभन्दा धेरै यात्रु बोक्ने सबै माइक्रोलाई कारबाही गरिनेछ। बढी पैसा कमाउन नियम मिचेर क्षमताभन्दा धेरै यात्रु कोच्ने गरेकाले उपत्यकामा माइक्रोबसको यात्रा निकै सकसपूर्ण हुने गरेको छ।
यस्तै, मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारबाहीलाई तीव्रता दिएको छ। डिजिटल मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट ट्राफिक महाशाखाले मगाएर कारबाही थालेको छ।
ट्राफिक जरिवाना ५ हजारसम्म पुर्याउने तयारी
ट्राफिक नियम उल्लंघन गर्दा तिराइने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उल्लंघन बढी गर्ने गरेकोे गुनासोका आधारमा ट्राफिक जरिवाना पनि बढाउन लागिएको छ।
हाल ट्राफिक नियम उल्लंघ गर्दा पाँच सयदेखि एक हजारसम्म जरिवाना छ। यसलाई बढाएर तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म पुर्याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ।
सिंहदरबारभित्र निश्चित ठाउँमा मात्रै पार्किङ
सिंहदरबारभित्र जथाभावी सवारी पार्किङका कारण कुरुप र अव्यवस्थित देखिएपछि अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ।
यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानहरुको खोजी भइरहेको गृह मन्त्रालयले जनाएको छ। पार्किङस्थलको पहिचान भए लगत्तै मन्त्री बाहेक अन्यको गाडी पार्किङस्थलमा मात्रै राख्नेगरी आवश्यक तयारी भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।