काठमाडौं- नेकपा एमालेले माओवादी केन्द्रसँग बिहीबार पार्टी एकता गर्ने निर्णय गरेको छ।
पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले एकताबारे निर्णय गर्दै महाधिवेशनसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै अध्यक्ष रहने निर्णय गरेको छ।
बैठकको निर्णयबारे जानकारी दिँदै एमाले सचिव योगेश भट्टराईले केन्द्रीय समिति र स्थायी समितिको सदस्य संख्या पनि टुंगो लगाएको बताए।
जस अनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेले २ सय ४१ लिने निर्णय भएको सचिव भट्टराईले बताए।
यस्तै, ४३ सदस्यीय स्थायी समितिमा एमालेले २५ सदस्य लिने भएको छ।
पार्टी एकताबारे अन्तिम टुंगो लगाउन बिहीबार बिहान १० बजे बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र बैठकले निर्वाचन आयोगमा प्रस्तुत गर्ने घोषणापत्र, विधान लगायत पार्टी एकता कार्यक्रमको सम्पूर्ण तयारी गर्ने सचिव भट्टराईले बताए। एकता संयोजन समितिले ल्याउने निर्णयलाई दुवै दलको अलग-अलग बस्ने केन्द्रीय कमिटीको बैठकले बैठकले अनुमोदन गर्नेछ।
दुई पार्टीबीच कति वर्षमा र कुन महिनामा एकता होला भन्ने अनिश्चय हटेर अब एकताको गन्ती केही घन्टामा आइपुगेको सचिव भट्टराईले बताए।
पार्टी एकताबारे बुधबार बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा भएको वार्तामा सहमति जुटेपछि पार्टी एकता निष्कर्ष उन्मुख देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।