काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आज सम्पन्न साधारणसभाले अध्यक्षमा कर्माछिरिङ शेर्पालाई निर्वाचित गरेको छ। लामो विवाद र अन्योल चिर्दै आज भएको निर्वाचनमा शेर्पा विजयी भएका हुन्।
शेर्पाले ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मत मात्र ल्याए। जम्मा ७७ मतदाता रहेकोमा एक जना अनुपस्थित रहे भने एक मत बदर भयो।
४ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्णबहादुर थापा र उपेन्द्रमान सिंह निर्वाचित भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको थियो।
११ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै शेर्पा प्यानलबाटै विजयी भएका छन्। विजयी हुनेहरुमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रमान श्रेष्ठ, मधुसूदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यन्जनकार, दीर्घबहादुर केसी कुमार, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ छन्। यसअघि नै एक महिला सदस्यका लागि पेमा लामा निर्विरोध भएकी छन्।
समितिको महासचिव र कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था छ।
अध्यक्षका प्रत्यासी कुँवरले शुक्रबार पत्रकार सम्मेलन गरी निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।