भ्रष्टाचारको मुद्दामा साढे दुई वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्षसम्म फुटबलको कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगायो। फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गर्दै फुटबलका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेसँगै थापा २० वर्षपछि नेपाली फुटबलबाट बाहिरिन बाध्य भएका थिए।
यसपछि धेरैको सोचाइ थियो, उनले फुटबलको गतिविधिबाट आफूलाई अलग्गै राख्लान्। तर, फिफाको निर्णय विपरीत थापा अप्रत्यक्ष रूपमा मात्र नभई सक्रिय रूपमै लागे। फिफाको प्रतिबन्धमा परे पनि थापा फुटबलमा आफ्नो प्रभाव जमाउन भने सफल भइरहे।
आफ्नो पाँचौं कार्यकाल समाप्त हुन एक वर्ष बाँकी रहँदा थापा भ्रष्टाचारमा मुछिएका थिए। त्यसपछि बाँकी रहेको कार्यकालको लागि भएको निर्वाचनमा थापा आफ्ना पक्षधरलाई जिताउन सक्रिय थिए।
२०७३ असोजमा भएको निर्वाचनमा थापाले आफ्ना निकट नरेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा जिताए। एन्फा शुद्धीकरण अभियानमा लागेका तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा श्रेष्ठसँग पराजित भए। यस्तै, उपाध्यक्षमा मणि कुँवर विजयी हुँदा शेर्पा समूहका दीपक खाती हारेका थिए। कुँवर नातामा थापाका साला पर्छन्।
यसपटकको एन्फाको चुनावी साधारणसभा पनि थापा सक्रिय भूमिकामा देखा परे। जिल्ला अधिवेशनदेखि नै प्रतिबन्धमा परेका थापाले लबिङ थालेका थिए। जसले गर्दा जिल्लाका निर्वाचन विवादित बन्न पुगे।
गत चैत १४ का लागि घोषणा गरिएको एन्फा निर्वाचनअघि गरेर थापाले आफ्नो धारणा राखेका थिए। अध्यक्षका प्रत्यासी तथा आफ्ना साला मणि कुँवरको पक्षमा भोट माग्दै उनले खुला रुपमा कर्माछिरिङ पक्षलाई चुनौती दिए। यसबीच कर्माछिरिङ पक्ष बलियो बन्दै जाँदा दुई जिल्लाले मुद्दा हाल्दा चैत १४ मा तोकिएको निर्वाचन स्थगित गरिएको थियो। मुद्दा दायर गर्ने भक्तपुर र मकवानपुर जिल्ला थापाका विश्वासपात्र थिए।
दुई जिल्लाको विवाद समाधान भएसँगै बैसाख २२ का लागि निर्वाचन तोकियो। तर थापा निकट मानिने कुँवरले विधानअनुसार निर्वाचन मिति नतोकिएको भन्दै निर्वाचन रोक्न आन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे। तर अदालतले विधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढेको भन्दै अन्तरिम आदेश दिन नपर्ने ठहर गर्योअ। भोलिपल्ट कुँवरले पत्रकार सम्मेलन गरेर बहिस्कारको घोषणा गर्दै निर्वाचनबाटै भागे।
शनिबार भएको निर्वाचनमा शेर्पा अध्यक्षमा निर्वाचित भएसँगै गणेश थापा २३ वर्षपछि एन्फाबाट बाहिरिन बाध्य भएका छन्। यसले नेपाली फुटबलमा नयाँ युगको सुरुवात भएको छ। परिवर्तनको नारा दिएर चुनावमा होमिएका शेर्पा पक्षले थापाको युगको अन्त्य गरेका छन्। ४ उपाध्यक्षसहित सबै केन्द्रीय सदस्य शेर्पा प्यानलबाटै निर्वाचित भएका छन्।
थापाको प्रभावलाई एन्फबाट हटाउन शेर्पा पक्षले ४ वर्ष लगातार आफ्नो आवाज उठायो। एन्फामा करोडौं भ्रष्टाचार भएको भन्दै तत्कालीन उपाध्यक्ष शेर्पासहितले २०७१ मा आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनपछि संसदको लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राख्यो। त्यही आन्दोलनको उत्कर्ष नै शेर्पाको विजयलाई लिन सकिन्छ।
भ्रष्टाचार मुद्दा र अनियमिताविरुद्ध आवाज उठाएर थापा युगको अन्त्य गरेका शेर्पासामु चुनौतीका पहाड छन्। ५ वर्षदेखि हुन नसकेको ए डिभिजन लिग तत्काल सुरु हुनुपर्ने अवस्था छ। निर्वाचनमा व्यक्त गरेका परिवर्तका नाराले खेलाडी, प्रशिक्षकलाई अनुभूति गराउनुपर्ने चुनौती छ। खस्कँदै गएको फुटबल, स्थानीय स्तरमा फुटबल पुर्याउने कार्ययोजना लागू गर्नु शेर्पाका सुरुवातका काम हुन सक्छन्। आफैले उठाएको भ्रष्टाचार मुद्दाको किनारा लगाउनु पनि शेर्पाको सबैभन्दा चुनौतीपूर्ण काम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।