काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले असाधारण पार्टी भएको बताएका छन्।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेपालव्यापी मात्रै नभएर नेपालीव्यापी पार्टी भएको बताए। उनले एमालेसँग अरु पार्टीको तुलनै हुन नसक्ने दाबी समेत गरे।
'एमाले विचार, सिद्धान्त, नीति, योगदान, जनप्रभाव, जनविश्वास, कार्यक्षमताको हिसाबले असाधारण पार्टी हो', ओलीले भने, 'नेकपा एमाले नेपालका सामाजिक जीवनका सबै क्षेत्रमा नेपालव्यापी मात्रै होइन, नेपालीव्यापी छ। जहाँ नेपाली छन्, त्यहाँ एमाले छ। अमेरिका, जापान, कतार, भारतमा नेपाली छन् भने त्यहाँ पनि एमाले छ।'
एमालेसँग होरिजेन्टल मात्रै होइन, भर्टिकल नीतिहरु भएको पनि ओलीले बताए। 'होरिजेन्टल त पानी पनि हुन्छ, भर्टिकल हुँदैन', उनले भने, 'नेकपा एमालेका आफ्ना स्पष्ट उच्च गन्तव्यहरु न्यायोचित कुरामा आधारित छन्।'
उनले आफ्नो भारत भ्रमणलाई लम्पसारवाद भनिएकोमा पनि आश्चर्य व्यक्त गरे। 'नेपालमा त यस्ता-यस्ता मान्छे छन्, म भारतबाट फर्किएपछि केपी ओलीको भारत भ्रमण लम्पसारवाद भयो भनेर एउटा नेताले बोलेको सुनियो', उनले थपे, 'कसैले कुनैबेला लम्पसार परेका बेला भनेको सम्झिएर भारतमा प्रधानमन्त्री भ्रमण गरेर फर्किएपछि लम्पसारवाद भन्नुपर्छ होला भन्ने ठानियो।
अर्थ बुझेर भनिएन। तिनका कार्यकर्तालाई पनि अध्यक्षले, सभापतिले भनेपछि लम्पसारवाद नै भन्नुपर्ने रहेछ भन्ने लाग्यो। अहिलेको प्रधानमन्त्रीको भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हाँस्छ भन्ने कुराचाहिँ बिर्सिए।'
प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई मुसासँग तुलना गरे। 'जो लेखेर जीविका चलाइरहेका छन्, त्यो राम्रो हो। तर, कतिपयले लेखेको देखेर मलाई नमज्जा लाग्छ। मुसाले दाँतमा धार लगाइराखेन, केही काटिरहेन भने त्यसको दाँत लामो हुन्छ। त्यसले चाहिएको बेला केही काम गर्दैन। त्यो बांगिएर काम नलाग्ने हुन्छ। त्यसैले मुसाले दाँतमा धार लगाउन, छोट्याउन, तेजिलो बनाइराख्नका लागि काटिरहनुपर्ने हुन्छ। त्यसले तपाईंको घरको कपडा काट्छ। तर, नोक्सान गर्न भनेर काटेको होइन। बिचरा उसले आफ्नो दाँतमा धार लगाउँछ। थाङ्ना कपडा काटिदिए हुन्थ्यो नि, माइती जानेको साडी काटिदिन्छ, ससुराली जानेको सुट काटिदिन्छ। त्यसले बुझ्दैन किनकि त्यो मुसा हो', उनले भने, 'तर बुद्धिजीवीले दाँतमा धारै लगाउनको निम्ति देशलाई नोक्सान पार्नेगरी किन धार लगाउने? रारा ताललाई महेन्द्रताल भन्दिएको छ। महेन्द्र जन्मिनुभन्दा लाखौं करोडौं वर्षअघि रारा ताल थियो। कठैबरी।'
'विकासको कुरा गर्ने केपी ओलीले? विकासको कुरा त महेन्द्रले पनि गरेका थिए। यो महेन्द्रपथमा गएकै हो', उनले बुद्धिजीवीप्रति लक्षित गर्दै भने, 'अचम्म लाग्छ। खालि सहानुभूति राख्न सकिन्छ त्यस्ता बुद्धिजीवीलाई।'
'बाबुआमाले कस्ता राम्रा-राम्रा तर्क गर्ने, राम्रो-राम्रो विश्लेषण गर्ने, कस्तो विद्वान बनाउँला भनेर कलेज र विश्वविद्यालयमा छोरो पठाए', अध्यक्ष ओलीले थपे, 'छोरो त विकास भनेको महेन्द्रीय विकास पो हुन्छ, विकास भनेको महेन्द्रपथ भयो पो भन्छ। सर्टिफिकेट लिएको छ विश्वविद्यालयको तर भन्छ त्यसो। अब बाआमा पनि छक्क पर्ने भएनन्। हेर खर्चको नाश!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।