काठमाडौं– बिहीबार राति त्रिभुवन विमानस्थलको धावनमार्गबाट जहाज दुर्घटना भएफछि यात्रुहरु अलपत्र परेका छन्। मलेसियाको राजधानी क्वालालाम्पुरका लागि उड्न लागेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट चिप्लिएर गएराति १० बजेतिर दुर्घटनामा परेको थियो। ओडी १८१ नम्बरको उक्त जहाजमा जम्मा १३९ यात्रु थिए। तालिका अनुसार उक्त जहाजको उडान समय राति ९:४५ बजेको थियो।
राति १० बजेदेखि नै अवतरणका लागि आएका अन्तर्राष्ट्रिय विमानहरु भारत र बंगलादेशतिर डाइभर्ट गरिएकाे छ। सयौं यात्रु अलपत्र परेका छन्।
चिप्लिएर चौरमा पुगेको जहाजलाई झन्डै १२ घन्टाको प्रयासपछि निकालेर पार्किङ वे मा ल्याइएको छ। नेपाली सेना,प्रहरी र निगमका प्राविधिक कर्मचारीले संयुक्त रुपमा जहाजलाई पार्किङ क्षेत्रमा ल्याएका हुन्। उक्त कार्यमा नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी जहाज तानेका थिए। जहाज रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको थियो।
विमानस्थल प्रशासनले भने जहाजलाई दुर्घटनास्थलबाट झिकिएकाले केहीबेर पछि नै उडान अवतरण सुचारु हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।