नेपालगन्ज– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक अधिकारको लडाइँ पूरा भइसकेकाले अब मुलुकको मुख्य एजेन्डा विकास र समृद्धि भएको बताएका छन्।
नेपालगन्जमा लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि–२ नेपालको छैटौं नेसनल कन्भेन्सनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धिका लागि राजनीतिक र प्रशासनिक नेतृत्वसँगै नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सका भरमा मुलुक चलेको बताउँदै पोखरेलले निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिक र प्रविधियुक्त व्यावसायिक कृषि प्रणालीमा बदल्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री पोखरेलले अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति बढेको बताउँदै रोजगारमूलक र उत्पादनका क्षेत्रमा लगानी वृद्धि गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सबै क्षेत्रबाट सामूहिक पहल आवश्यक रहेको बताए।
लायन्स कन्भेन्सनमा देशभरका लायन्स क्लबका करिब २ हजार सदस्य सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।