भैरहवा– गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने सडकको स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको छ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्डको निर्माण करिब ४ महिना अघिदेखि सुरु भएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा गत कात्तिकदेखि सडक निर्माण सुरु भएको हो।
४१ किलोमिटर सडक ३० महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सडकखण्डको निर्माण कार्य अघि बढिरहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाले जनाएको छ। कपिलवस्तु जिल्लाको तौलिहवाबाट सुरु गरिएको काम रुपन्देहीको सुन्डीसम्म पुगेको आयोजना प्रमुख राजेशप्रसाद पौडेलले जानकारी दिए।
भैरहवाको बुद्धचोकदेखि भैरहवा विमानस्थल मायादेवी चोक (३ दशमलब ६८ किलोमिटर) सम्म ६ लेन, मायादेवी चोकदेखि लुम्बिनीको पर्सा चोक (१४ दशमलब ४ सय किलोमिटर) सम्म चार लेन र पर्साचोकदेखि तौलिहवा (२३ किलोमिटर) सम्म दुई लेन सडक निर्माणका लागि काम भइरहेको पौडेलले बताए।
दुई लेनको सडक बन्ने लुम्बिनीदेखि तौलिहवासम्मको खण्डमा माटो पुर्ने, कल्भर्ट बनाउने, रुख काट्ने लगायत काम भइरहेको बताउँदै उक्त क्षेत्रमा करिब ८० प्रतिशत काम पूरा भएको आयोजना प्रमुख पौडेलले बताए।
त्यस्तै, ४ लेनको निर्माण हुने पर्सादेखि भैरहवा विमानस्थलसम्मको सडकखण्डमा सुन्डीसम्म माटो पुर्ने, सम्याउने लगायतका काम भइरहेको उनले बताए। सो क्षेत्रमा रुपन्देही जिल्ला वन कार्यालयबाट रुख कटान गर्ने अनुमति पाएसँगै सडक किनारका २ हजार ७८ वटा रुख काटिँदै छ।
उनले सो खण्डमा अहिलेसम्म साढे चार प्रतिशत भौतिक प्रगति र १५ प्रतिशत वित्तीय प्रगति भएको बताए।
लुम्बिनीको पर्सादेखि तौलिहवासम्मको सडकमा पुरानो पिच उप्काएर ग्राभेलको काम भइरहेको छ। साथै, कल्भर्ट बनाउने र नाली बनाउने काम धमाधम भइरहेको इञ्जिनियर पौडेलले जानकारी दिए। उनका अनुसार आउँदो असारसम्म सडकखण्डमा माटो पुर्ने, कल्भर्ट बनाउने, रुख कटान गर्ने लगायत सबै काम सकिने र दशैंसम्म पर्सादेखि तौलिहवासम्म सडक निर्माण पूरा हुनेगरी काम भइरहेको छ। त्यस्तै, एक किलोमिटरको लागि नाला समेत तयार भइसकेको छ।
सडक निर्माण आयोजनाले विद्युत् प्राधिकरण, खानेपानी र नेपाल टेलिकमसँग समन्वय गरेर तार र पाइपहरुको काम अघि बढाउने तयारी गरिरहेको छ।
आयोजना प्रमुख पौडेलले चालु आर्थिक वर्षमा ८४ करोड २५ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन भएकाले बजेटमा कुनै समस्या नभएको बताए। आयोजनाको कुल लागत २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ।
सडक निर्माणका लागि भारतको गवार कन्सट्रक्सन प्रालिले सन् २०२० जनवरी १३ सम्ममा निर्माण सक्नेगरी १ अर्ब ९३ करोड ६ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
सो सडक निर्माण भएपछि भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवा जान पर्यटक र सर्वसाधारणलाई निकै सजिलो हुनेछ।
निर्माण कार्यमा नदीजन्य पदार्थको अभाव
सडक निर्माण कार्यका लागि आवश्यक नदीजन्य पदार्थ सहज रुपमा उपलब्ध भए मात्रै निर्धारित समयभित्रै आयोजना सम्पन्न हुने आयोजनाले जनाएको छ।
आयोजना प्रमुख पौडेलले आयोजनालाई ६ लाख घनमिटर नदीजन्य पदार्थ आवश्यक रहे पनि जिल्ला समन्वय समिति (जिसस)ले २५ हजार घनमिटर मात्र नदीजन्य पदार्थ उपलब्ध गराएको बताए।
‘आयोजनालाई आवश्यक नदीजन्य पदार्थ नभए निर्माण कार्यमा ढिलाइ हुन्छ’, उनले भने।
जिससदेखि विभिन्न निकायमा नदीजन्य पदार्थका उपलब्ध गराउन भन्दै पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।