राजविराज– पुरस्कार परेको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका १२ का १९ वर्षीय महेश ठाकुरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पाँचथरको फिदिम बजारकी अनुसा अधिकारीको उजुरीका आधारमा ठाकुरलाई पक्राउ गरिएको हो। अञ्जान नम्बरबाट फोन गरी ‘तपाईंले २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसका लागि आजै ४ बजेभित्र कर बापतको ३० हजार बुझाउनुहोला नभए पैसा फ्रिज हुन्छ’ भन्ने जानकारी आएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको भन्दै अधिकारीले उजुरी गरेकी थिइन्।
फिदिम बजारको आइएमईबाट काठमाडौंका रोमन प्रजापतिको नाममा पैसा पठाएको तर रकम निकाल्न नमिलेपछि पुनः राजविराज पठाइदिनू भनेपछि आफूले सोही अनुसार राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा पैसा पठाएको अधिकारीले बताएकी छन्।
पैसा पठाएपछि पनि आफूले पुरस्कार नपाएकाले महेशकुमार मण्डललाई पक्राउ गरी रकम असुल गरिदिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा परेको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए। मण्डलको साथबाट ७० हजार नगद १ थान मोबाइल समेत बरामद गरी शनिबारै जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको श्रेष्ठले जानकारी दिए।
यसैगरी, राजविराज ७ स्थित रगंशालामा पार्किङ गरेर राखेको सुरुङगा नगरपालिका ७ का सुधिर चौधरीको स१प ७४३३ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा विष्णुपुर गाउँपालिका ४ का २० वर्षिय प्रमेश्वर यादवलाई पक्राउ गरिएको छ। राजविराज ६ स्थित राजविराज–सखडा सडकखण्डमा चोरीको मोटरसाइकल डो¥याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।