काठमाडौं- लामो विवादपछि प्रधानन्यायाधीश पदबाट गोपाल पराजुलीले राजीनामा दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट अलग भएको पत्र बुझाएर पराजुली अपराह्न शीतल निवासबाट बाहिरिएका छन्। राष्ट्रपति कार्यालय स्रोत अनुसार, राष्ट्रपति भण्डारीले सुरक्षित अवतरणको बाटो रोज्न आज बिहान दिएको सुझावपछि उनले राजीनामा बुझाएका हुन्।
बुधबार न्याय परिषद् सचिवालयले अवकाश पत्र पठाएपछि पराजुलीले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सो क्रममा राष्ट्रपति भण्डारीले सर्वोच्चमा नयाँ नेतृत्व आइसकेको अवस्थामा फर्केर जाने बाटो नभएकाले सहज अवतरण खोज्न सुझाव दिएकी थिइन्।
न्याय परिषद् सचिवालयले पठाएको अवकाश पत्र, सर्वोच्चमा नयाँ नेतृत्व आएको अवस्था लगायतका कारण पराजुलीले राजीनामा दिने मनस्थिति बनाएको स्रोत बताउँछ।
उमेर हदका कारण प्रधानन्यायाधीशका रुपमा पराजुलीको पदावधि गत साउन २१ मै सकिएको भन्दै न्याय परिषद् सचिवालयले त्यसपछिको पदावधि अवैध भएको ठहरसहित बुधबार उनलाई अवकाश पत्र पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।