काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशबीचको विवादमा दोस्रो दिन पनि सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशसहित ८ न्यायाधीशले इजलाश बहिस्कार गरेका छन्।
आइतबार इजालश बहिस्कार गरेका न्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेक अन्यको इजलाश तोकिए पनि उनीहरुले मंगलबारकै अडानमा आफूहरु अडिग रहेको भन्दै बहिस्कारलाई निरन्तरता दिएका हुन्।
प्रधानन्यायाधीश सर्वोच्चको न्यायिक प्रक्रियावाट अलग नभएसम्म उनले तोकेको मुद्दा नहेर्ने अडानमा उनीहरु छन्।
पराजुलीले तोकेको पेशीमा इजलाश नबस्ने निर्णय वरिष्ठ न्यायाधीश दीपकराज जोशी र विश्वम्भर श्रेष्ठ, हरिकृष्ण कार्की र ईश्वर खतिवडा, प्रकाश सिंह राउत र अनिल कुमार सिन्हा, आनन्दमोहन भट्टराई र सपनामल्ल प्रधानले गरेका थिए। बुधवार पनि उनीहरुको नाममा संयुक्त इजलाश तोकिएको थियो।
न्यायाधीश राउत र शारदा घिमिरेको छुट्टै इजलाश तोकिएको छ। तर राउतले हिजो पराजुलीको इजलाश अस्वीकार गरेका थिए। उक्त इजलाश पनि आज प्रभावित हुने छ। प्रधानन्यायाधीश पराजुलीले आफ्ना लागि भने एकल इजलाश तोकेका छन्। हिजो संयुक्त इजलाश तोकेका पराजुलीले आज आफ्नो छुट्टै इजलाश तोकेका हुन्।
न्यायाधीशहरु ओमप्रकाश मिश्र, पुरुषोत्तम भण्डारी, दीपककुमार कार्की, डम्बरबहादुर शाही, केदारप्रसाद चालिसे, टंकप्रसाद मोक्तान, शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठले भने मुद्दा सुनुवाइ थालेका छन्।
इतिहासमा पहिलो पटक सर्वोच्चको नेतृत्वविरुद्ध यस्तो विरोध भएको हो।
डा गोविन्द केसी र कान्तिपुर दैनिकको अवहेलना मुद्दा आफू सहितको ७ बृहत् पूर्ण इजलाशमा सुनुवाइ थालेपछि न्यायाधीशहरुबीच गुट देखिएको छ।
मंगलबार भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दीपकराज जोशीसहित ८ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको मुद्दा नहेर्ने निर्णय गरेका थिए। सोमबार न्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीश पराजुली साउनमै अवकाश हुनुपर्नेमा बढी अवधि सर्वोच्चमा बसेको भन्दै इजलाशमा नबस्ने घोषणा गरेका थिए। उनले दुई दिनदेखि कुनै मुद्दा पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।